कोड लेखिदिने एआई टुल ल्याउँदै मेटा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र ११, सोमबार
फेसबुकको मातृ कम्पनी मेटाले लामा टू (Llama2) नामक लार्ज ल्यांग्वेज मोडलमा आधारित एआई टुल ‘कोड लामा’ (Code Llama) सार्वजनिक गरेको छ ।
कोडमा भएको गल्ती सुधार गर्नुका साथै कोड लेख्न सहयोग गर्ने उद्देश्यका साथ मेटाले यो टुल ल्याएको हो ।
यस टुलले डेभलपरहरूको क्षमता वृद्धि गर्ने र उनीहरूको कामलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने मेटाको विश्वास छ । मेटाले लामा टुलको लाइसेन्स प्रयोग गरेर यो टुललाई अध्ययन, अनुसन्धान तथा व्यापारिक प्रयोजनका लागि निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
कोड लामाले सार्वजनिक रुपमा उपलब्ध गराएको एलएलएममा बेन्चमार्क परीक्षण गर्दा उत्कृष्ट प्रदर्शन गरेको कम्पनीको दाबी छ ।
यसमा प्रयोगकर्ताले लेख्ने प्रोम्टको आधारमा कोड स्ट्रिङ सिर्जना गर्ने, कोड डिबग गर्ने जस्ता क्षमता छ । मेटाले ‘कोड लामा पाइथन’ र ‘कोड लामा इन्स्ट्रक्ट’ गरी यसको स्पेसलाइज्ड भर्सन सार्वजनिक गरेको छ ।
कोड लामा इन्स्ट्रक्टले नेचुरल ल्यांग्वेजमा इन्स्ट्रक्सनहरु बुझ्न सक्ने तर यी भर्सन बीच स्विच गर्न नसकिने मेटाको भनाइ छ ।
पछिल्लो समय यस्ता कोड जेनेरेटर विकास गर्ने लहर चल्दै गएको छ । गिटहबको कोपाइलट, अमेजनको कोड विस्पर, गुगलको अल्फाकोड त्यसका केही उदाहरण हुन् ।
त्यस्तै तीन फरक आकारमा कोड लामा ल्याउने पनि मेटाले जनाएको छ ।
मेटाका अनुसार ससाना तथा छिटो सक्नु पर्ने परियोजनाका लागि सबैभन्दा सानो मोडेल हुनेछ भने यो एउटा ग्राफिक्स प्रोसेसिङ युनिट मा चल्नेछ ।
Categorized in विज्ञान-प्रविधी