फेसबुक, इन्स्टाग्राममा अपलोड हुने तस्वीरमा लेबल लगाउँदै मेटा
SamacharDesk | २०८० माघ २६, शुक्रबार

मेटा कम्पनीले फेसबुक, इन्स्टाग्राम र थ्रेडमा अपलोड हुने तस्वीरमा लेबल लगाउने भएको छ । विश्वभर आउँदै गरेका निर्वाचनलाई लक्षित गर्दै कम्पनीले यस किसिमको व्यवस्था गर्न लागेको हो ।
मेटाका विश्व मामिला अध्यक्ष निक क्लेगले एक अन्तर्वार्ताका क्रममा एआई निर्मित मिडियालाई वास्तविकतासँग छुट्याउन मुस्किल हुँदै गएको भन्दै त्यसको सामना गर्न यस किसिमका कदम चाल्न लागिएको बताएका छन् ।
यस अघि नै आफ्नो इम्याजिन एआई जेनेरेटरबाट तयार पारिएका तस्वीरमा ’इम्याजिन्ड विथ एआई’को वाटरमार्क रहने व्यवस्था लागू गरिसकेको छ । अब भने कम्पनीले सोही किसिमको व्यवस्था गुगल, ओपनएआई, माइक्रोसफ्ट, एडोबी, मिडजर्नी र शटरस्टकका एआई टुलको सहयोगमा तयार पारेका फोटोमा समेत वाटरमार्क तथा लेबल लगाउनेछ ।
मेटाले एआईबाट सिर्जना गरिएका सामग्री पहिचान गर्ने टुल बनाइरहेको क्लेगको भनाई छ ।
कम्पनीले हरेक कुरा आफैं पहिचान गर्न नसक्ने नभए पनि यस किसिमका मिडिया सामग्री झुक्याउनका लागि कसरी प्रयोग हुन सक्छन् भन्ने विषयमा मेटा “हाई अलर्ट”मा रहेको उनले बताएका छन् ।
यसका साथै वास्तविकतामा आधारित भिडियो वा अडियोको अंश एआईले बनाएको कुरा नखुलाउने प्रयोगकर्तालाई समेत कम्पनीले दण्डित गर्ने बताइएको छ ।
एआईले तयार पारेका भिडिओ तथा अडियो पहिचान गर्ने मापदण्ड बनाउने सवालमा भने उद्योग निकै पछाडि रहेका क्लेगको भनाई छ ।
अमेरिकी सरकारले समेत प्रविधि कम्पनीहरुलाई एआईबाट सिर्जना गरिएका सामग्री सजिलै पहिचान गर्न सकिने गरी वाटरमार्क लगाउने व्यवस्था गर्न भनिरहेको छ ।
एडोबीले हालै मात्र तस्वीरको मेटाडेटामा सामग्रीको उत्पत्ति सम्बन्धी जानकारी समावेश गर्ने कन्टेन्ट क्रेडेन्सियल सिस्टम सार्वजनिक गरेको थियो ।
जसले त्यसैगरी गुगलले तस्वीरका लागि बेटा भर्सन सार्वजनिक गरेपश्चात् आफ्नो सिन्थआईडी वाटरमार्क अडियो फाइलका लागि विस्तार गरेको छ । मेटाले अवस्थित सामग्रीको आधिकारिकता पहिचान गर्ने अभियानमा काम गरिरहेको पार्टनरशिप अन एआई जस्ता समूहसँग मिलेर समेत काम गरिरहेको छ ।
Categorized in विज्ञान-प्रविधी