arin enterprises

सरकार र दुग्ध किसानबीच पाँच बुँदे सहमति

SamacharDesk | २०८० फाल्गुण २०, आइतबार

सरकार र केन्द्रीय दुग्ध सहकारीबीच किसानका मागहरू पूरा गर्ने पाँच बुँदे सहमति भएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालको उपस्थितिमा हिजो साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए ।

सहमति अनुसार दुग्ध उत्पादक कृषकहरूलाई दुध बिक्री गरे बापत पाउनुपर्ने रकम निरन्तरता दिँदै २०८० पुस मसान्तसम्मको रकमको भुक्तानी प्रत्येक उद्योगीहरूले यही २०८० साल चैत्र २१ सम्म गर्ने भएका छन् ।

त्यस्तै उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी सङ्घले राखेका माग सम्बोधनका लागि पहल गर्ने सहमति भएको हो ।

केन्द्रीय दुग्ध सहकारी संघले राखेका अन्य मागहरू सम्बोधन गर्न पहल गर्ने पनि सहमति भएको छ । सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू हाललाई स्थगन गरिएको छ ।

Categorized in राष्ट्रिय