पुर्ननिर्माणको अनुगमन गर्न मन्त्री र मेयर रानीपोखरी परिसरमा
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ भाद्र १२, शुक्रबार

२०७२ वैसाख १२ गतेको महाभूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माणबारे जानकारी लिन शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य रानीपोखरी परिसर पुगेका छन् ।
सो अवसरमा राज्यमन्त्री मानन्धरले कोभिड–१९ को महामारीका बीचमा पनि रानीपोखरी पुर्ननिर्माण जारी राखेर सम्पन्न हुने चरणमा पुग्नु गौरवको कुरा भएको बताए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले सुरुमा विज्ञ समूह बनाएर उनीहरुकै राय–सुझाव अनुसार प्रताप मल्लकालिन स्वरुप, शैली र निर्माण सामाग्रीको प्रयोग गर्ने प्रतिवद्धता जनाएको स्मरण गराएका थिए ।
उहाँले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मौलिक स्वरुप गुम्बज शैलीको रहेको समेत स्मरण गराए ।
‘हामीले एउटा पुरानो तस्बिर फेला पारेपछि शिखर शैलीमै पुर्ननिर्माण गर्ने निर्णय गरेका थियौँ’ मेयर शाक्यले भने । ‘बीचमा केही विवाद भएपनि सबैको सल्लाह–सुझाव अनुसार अन्तिममा त्यही शैली र स्वरुपमा पुननिर्माण गर्न सफल भएका छौँ ।’
रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिले राज्यमन्त्री मानन्धर र कामपा मेयर शाक्यलाई रानीपोखरी पुर्ननिर्माणको काम सत प्रतिशत र मन्दिर तथा सौदर्यीकरणको काम ८५ प्रतिशत सम्पन्न भएकोे जानकारी गराएको थियो ।
समितिका अध्यक्ष अजय स्थापितले सुरुमा पाँच जनाको उपभोक्ता समिति गठन गरी समितिको कामलाई अनुगमन गर्न काठमाडौँ महानगरपालिकाले रानीपोखरीसँग जोडिएका वडा–१, २८ र २७ का अध्यक्षहरुको समिति बनाएको जानकारी दिए ।
कोभिडको समस्या हट्ने वित्तिकै उद्घाटन गर्ने तयारीमा जुट्ने स्थापितको भनाई थियो ।
रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिका सचिव रोशन तुलाधरले २०७५ साल फागुन २० गतेबाट शुरु भएको पुर्ननिर्माणको काम ०६६ सालको कार्तिक महिनामै सम्पन्न गर्ने तयारी रहेपनि मौलिकतालाई केलाई–केलाई काम गर्नुपर्ने भएकाले धेरै समय लागेको पनि तुलाधरले प्रष्ट पारे ।
उहाँले कालोमाटो राख्नु पर्ने र त्यो खोज्नका लागि पनि धेरै मेहनत गर्नुपर्ने परेको जानकारी दिए । पोखरीमा पानी भर्न विभिन्न विकल्प अघि सारेको पनि उहाँले बताए ।
तुलाधरका अनुसार पोखरी पुर्ननिर्माणका लागि मात्रै ९ करोड ५४ लाख र मन्दिर र सौर्दर्यीकरणका लागि करीब १५ करोड गरी करीब २५ करोडको लागतमा पुर्ननिर्माण भैरहेको छ ।
Categorized in स्थानीय