झुठो समाचार लेख्नेलाई कारवाही गर्न मन्त्री श्रेष्ठको माग
SamacharDesk – बिराज | २०७९ श्रावण १३, शुक्रबार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले झुठो र अप्रमाणित समाचार लेख्नेहरुलाई प्रेस काउन्सिलले कारवाही गर्नुपर्ने माग गरेका छन् ।
काठमाडौं उपत्यकाको एउटा पालिकाबाट अर्को पालिकामा सरुवाको लागि मन्त्री श्रेष्ठले आर्थिक चलखेल र बार्गेनिङ गरेको भनेर प्रकाशित समाचारप्रति इङ्गित गर्दै उहाँले यसो भनेका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाभित्र कुनै सरुवा नभएको अवस्थामा सो समाचार स्वतः गलत सावित भएको दावी गरे ।
सो समाचारलाई प्रायोजित दावी गर्दै मन्त्री श्रेष्ठले भने, ‘नयाँ पार्टी गठनको मिशनका लागि झुठो समाचार सम्प्रेशन गर्नु भनेको वैचारिक दरिद्रता हो । मिशन पत्रकारिता अन्तर्गत दिइने प्रायोजित समाचारप्रति दुःख व्यक्त गर्दछु ।’
सामाजिक सञ्जालमा बाबुराम पक्षधरबाट आफुप्रति लक्षित गर्दै भइरहेका टिकाटीप्पणीलाई मन्त्री श्रेष्ठले वैचारिक दरिद्रताको संज्ञा दिए । साथमा श्रेष्ठले सामाजिक सञ्जालमा गरिने आलोचनात्मक टिप्पणीले आफुलाई राम्रो काम गर्न उर्जा मिलेको समेत बताए ।
‘प्रधानमन्त्री भइसकेका व्यक्तिले समेत राजनीतिक पूर्वाग्रह राखेर वैचारिक दरिद्रता प्रदर्शन गर्दै जथाभावि ट्वीट गरीरहेका छन् । मैले केही गलत गरेकै छैन त, म त्यस्ता ट्वीटले किन डराउनु ? बरु उल्टो मलाई त राम्रो काम गर्न उर्जा प्राप्त भएको छ’ श्रेष्ठले भने ।
एक अर्को प्रसङ्गमा बोल्दै मन्त्री श्रेष्ठले नेपाल सरकारले अमेरीकी सरकारलाई एसपीपी स्वीकार नगर्ने भनी पत्रमार्फत नै जानकारी दिइसकेको बताउनुभयो ।
Categorized in राजनीति