मिस नेपाल-२०२३ को आवेदन खुला
SamacharDesk – समाचारडेस्क सम्वाददाता | २०७९ माघ १९, बिहिबार
द हिडेन ट्रेजरले मिस नेपाल—२०२३ को आवेदन खुला गरेको छ ।
विहीबार राजधानीमा एक कार्यक्रमकाबीच अध्यक्ष दिवाकर राजकर्णिकारले आजबाट आवेदन खुला भएको घोषणा गर्नुभएको हो । इच्छुक प्रतियोगीहरुले चैत्र १, २०७९ (मार्च १५, २०२३) सम्म आवदेन दिन सक्नेछ ।
यस वर्षदेखि प्रतियोगितालाई फराकिलो बनाउँदै सातै प्रदेशमा अडिसनको आयोजना गर्ने भएको छ । जसअनुसार काठमाडौं अडिसन १८, मार्च २०२३ मा आतिथ्य साझेदार होटेल बुढानिलकण्ठस्थित पार्क भिलेज होटलमा हुनेछ ।
त्यस्तै इटहरी, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरु मार्च १५, २०२३ भित्रै हुने जनाएको छ । जसको स्थान र मिति भने पछि सार्वजनिक गरिने बताइएको छ । ग्राण्ड फिनाले भने जेठ १३ गते ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ ।
यस वर्ष २०२३ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्ष उमेरसम्मका अविवाहित नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीले निःशुल्क आवेदन दिन सक्ने भएका छन् ।
यस वर्ष पनि मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनलका विजेता चुनिनेछन् । पत्रकार सम्मेलनमा हिडन ट्रेजर अध्यक्ष दिवाकर राजकर्णिकारले मिस नेपाललाई बृहत र समावेशी बनाउन प्रयत्न हुने बताए ।
सो अवसरमा मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले अनुभव बाँडे । सरिशा र न्यान्सीले अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टबारे अनुभव सुनाए ।
मिस वर्ल्ड भने आगामी मेमा आयोजना हुँदैछ । कार्यक्रममा मिस नेपाल प्रियंकाले मिस वर्ल्डको ब्युटी विथ पर्पसको भिडियो टिजर प्रस्तुत गरेमने थियने । जसलाई मिस वल्र्ड प्रतियोगिताको मुटु समेत मानिने गरिन्छ ।
गत वर्षको मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठले मनिला, फिलिपिन्समा मिस अर्थ २०२२ प्रतियोगितामा सहभागी भएर वेष्ट इको भिडियो (एसिया) जित्न सफल भएकी थिइन् ।
त्यस्तै मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का जापानको टोकियोमा आयोजित मिस इन्टरनेशनल २०२२ मा सहभागी भएकी थिइन ।
सो अवसरमा मिस नेपाल वल्र्ड प्रियंका रानी जोशी मिस वल्र्ड २०२३ मा सहभागी हुने तयारीमा रहेको जानकारी दिइन् । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट विभिन्न प्रशिक्षणहरु लिइरहेकी बताइन् ।
पत्रकार सम्मेलनमा मिस नेपालको आधिकारिक मोबाइल एप समेत सार्वजनिक गरियो । सोही एपमार्फत इच्छुकले आवेदन दिन सक्नेछन् भने दर्शकले फिनालेको टिकट खरिद गर्न सक्नेछन् ।
यसपटक मिस नेपालको टाइटल स्पोन्सरमा डाबर बाटिका रहेको छ । पर्यटन बोर्डले समेत यसपटक पर्यटन पार्टनरको रुपमा सहकार्य गरेको छ । यसपटक पनि कोरियोग्राफरको रुपमा रचना गुरुङ शर्मा रहेकी छन् । फोटोग्राफीमा राजभाइ सुवाल रहेका छन् ।
Categorized in पेजथ्री