त्रिपुरेश्वरमा आधुनिक शौचलय संचालनमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ माघ २८, शुक्रबार

काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरमा आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ । महानगरले त्रिपुरेश्वरको बस विसौनीसँगै एरोशानसँगको सहकार्यमा निर्माण गरिएको शौचालय आजबाट संचालनमा ल्याइएको हो ।
आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले उक्त शौचालय उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै मेयर शाक्यले दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरणमा प्रतिवद्ध रहेको बताउनुभयो ।
‘हामीले घना बस्तीकाविच कसैलाई असर नहुने शौचालय बनाउने भनेका थियौँ, आज गरेर देखायौं । हामीले बनाएका शौचालय दुर्गन्ध नआउने, शौचालय छ कि छैन थाहा नहुने खालका छन्’ शाक्यले भने ।
उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले नमूना कामलाई विस्तार गर्नुपर्ने बताउनुभयो । वडा ११ का अध्यक्ष एवं विधायन समितिका संयोजक हीरालाल तण्डुकार, वडा सदस्य सरोज मुल्मीले आफ्नो कार्यकालमा भएका स्मरणीय काममध्ये सार्वजनिक शौचालय बनाउनु महत्वपूर्ण रहेको उल्लेख गरेका थिए ।
एरोसानका नेपाल प्रतिनिधि प्रकाश अमात्यले, बायो डाइजेष्टरसहित सबै प्रणाली थोरै ठाउँमा जडान गरिएको जानकारी दिनुभयो ।
शौचालय ५ सय स्वायर फिटमा निर्माण भएको छ । यसको लम्बाई २८ फिट र चौडाई १२ फिटको छ । शौचालयमा पुरुष युरिनल ४ वटा क्युविकल २ वटा, महिलाका लागि २ वटा, एउटा समावेशी ठाउँ छ । भवनबाट आकाशे पानी संकलन, प्रशोधन र प्रयोग गर्न सकिने बताइएको छ ।
महानगरले सार्वजनिक शौचालयको पहुँच बढाउन यस बर्ष व्यवसायीहरुसँग अघि बढ्ने नीति बनाएको छ ।
Categorized in स्थानीय