कामपा उपप्रमुख डंगोलबाट अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८० माघ २९, सोमबार

काठमाडौँ महानगरपालिका (कामपा) ले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ ।
कामपा उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो ।
‘सहरी वातावरणमा महसुस योग्य सुधार गर्नुपर्छ । वातावरणीय जोखिम बढ्न नदिन हामी सचेत छौँ । क्षेत्राधिकारभित्रका काम गरिरहेका छौँ’ अनुगमन पछि कामपा उपप्रमुख डंगोलले भनिन् ।
अनुगमनको क्रममा अस्पतालको नर्सिङ् विभाग प्रमुख राधिका घिमिरेले संक्रमित फोहोर उत्पादन स्थल, उत्पादित फोहोर संकलन र ढुवानी गर्ने साधन साथै उपकरण, प्रशोधन स्थल र प्रविधि तथा निर्मलीकरण पछिका सामान व्यवस्थापनको अभ्यास देखाएकी थिइन् ।
घिमिरेका अनुसार अस्पतालले ३ लाख रुपैयाँ लागतमा फोहोर प्रशोधन गर्ने सामान तथा उपकरण खरिद गरेर संक्रमित फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्ने प्रणाली विकास गरेको हो ।
निर्मलीकरण गरिएको पुनःप्रयोग गर्न सकिने फोहोर बेचेर अस्पतालले वार्षिक करिब १ लाख ८० हजार रुपैयाँ आम्दानी गर्ने गरेको छ ।
अनुगमनपछि फोहोर वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले क्यान्टिन र फोहोर प्रशोधन कक्षको दुरी नजिक देखिएको भन्दै प्रशोधन कक्ष अलग्गै ठाउँमा राख्न सुझाव दिएका थिए ।
साथै प्रशोधन कक्ष साँघुरो भएकोले यसलाई बढाउनुपर्ने देखिएको पनि श्रेष्ठले भनेका थिए ।
काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानीकारक फोहोर व्यवस्थापन सम्बन्धी व्यवस्था छ ।
ऐनको दफा २० बमोजिम हानीकारक, स्वास्थ्य संस्थाजन्य, रसायनिक वा औद्योगिक फोहोरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्छ ।
Categorized in स्थानीय