आज आमाको मुख हेर्ने दिन
SamacharDesk | २०७९ बैशाख १७, शनिबार

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन प्रत्येक वर्ष वैशाखकृष्ण पक्षका दिन यो पर्व मनाउने गरिन्छ । आज जन्मदाता आमालाई सम्मान गरी आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व देशभर मनाइँदैछ ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।
शास्त्रनुसार पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
यस काठमाडौंको मातातीर्थमा ठूलो भिड हुने गर्दछ । आमा नहुनेहरु आज तीर्थमा आएर आमाको नाममा तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादान गरी जन्म दिने आमालाई सम्झिने गर्दछ । यस्तै नदि, तलाउ, कुण्डहरुमा गई नुहाईधुआई गरी दानधर्म गर्न चलन रहिआएको छ ।
वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको छ । यस्तो महत्त्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।
Categorized in राष्ट्रिय