स्थानीय संस्कृतिको अध्ययन र अभिलेखीकरणमा सभासद् श्रेष्ठको जोड
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० जेठ ८, सोमबार

बागमति प्रदेश सभासद् समिता खड्गी श्रेष्ठले हरेक जातजातिको सांस्कृतिक, आर्थिक लगायत विविध पक्षलाई लिएर बौद्धिक स्तरमा अध्ययन र अभिलेखीकरण गर्नुपर्नेमा जोड दिएकी छन् ।
नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं समितिबाट काठमाडौंमा आयोजित कार्यक्रममा सभासद् खड्गी श्रेष्ठले यस्तो भनेकी हुन् । यहाँको विविध जातजाति र ती जातीय समुदायको भाषा, संस्कृति, परम्परा नै नेपालको पहिचान बनेकोले पनि यस्ता विषयहरुको बौद्धिक स्तरम अध्ययन हुनु आवश्यक रहेको श्रेष्ठले बताइन् ।
हरेक जातजातिको आफ्नै संस्कृति, परम्परा हुन्छ र यिनै संस्कृतिको कारण विश्व सामु नेपालको शिर ठाडो बनाएको छ । अब यहाँका विविध जातजातिको अध्ययन अनुसन्धान बौद्धिक स्तरबाट हुनुपर्छ र यसको लागि म सक्दो सहयोग गर्नेछु’ श्रेष्ठले प्रतिवद्धता जनाइन् ।
यस क्रममा खड्गी समुदायको अध्ययन अनुसन्धानको सुरुवात गर्न श्रेष्ठले खड्गी समाजलाई आग्रह गरिन् ।
राष्ट्रिय खड्गी समाज काठमाडौं समितिले गत जेठ १ गतेबाट एक हप्ते नेपालभाषाबाट उद्घोषण तालीमको आयोजना गरेको थियो । गत जेठ ७ गते आइतबार एक कार्यक्रमको आयोजना गर्दै सोही तालिमको औपचारिक समापन गरिएको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग काठमाडौं समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिले बोल्ने कलाको विकास गर्दै सबैले आफ्नो हक अधिकारको बारेमा बोल्न आग्रह गरे । राज्यबाट भूमिहीनलाई भूमिपति बनाउन एक पटकको लागि दिएको सुविधाको सदुपयोग गर्न पनि अध्यक्ष प्रजापतिले सम्पूर्ण भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई आग्रह गरे ।
तालिमका प्रशिक्षक साथमा संचारकर्मी बिराजकाजी राजोपाध्यायले लामो समयसम्म राज्य एक भाषा नीतिमा संचालन भइदिँदा मातृभाषी समुदायले पनि आफ्नै मातृभाषा सिक्नुपर्ने अवस्था आएकोमा दुःख पोख्दै अब संघीय गणतन्त्रमा यो अवस्थाको अन्त्य गर्न तीन तहको राज्यले सकारात्मक भूमिका खेल्न आग्रह गरे ।
खड्गी समाजको केन्द्रीय अध्यक्ष नन्द किशोर शाहीले अनुशासनको संस्कार विकास गर्दै सभ्य समाजको निर्माण गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै समाज, काठमाडौं समितिका अध्यक्ष सुबास शाही, उपाध्यक्ष पुष्पराज शाही र सचिव प्रतिक खड्गीले भाषा, कला, संस्कृतिको संरक्षण, सम्वर्ध्दनका लागि समाज निरन्तर सक्रिय रहँदै आएको जानकारी गराउँदै समुदायमा भाषाको संरक्षणको उद्देश्यसहित तालिमको आयोजना गरिएको बताए ।
कार्यक्रममा बागमति प्रदेश सभासद् खड्गी श्रेष्ठले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र प्रशिक्षक राजोपाध्यायलाई कदर पत्र प्रदान गरेकी थिइन् ।
तालिममा २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।
तालिमको समापन कार्यक्रममा समाजको केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्यहरुको साथै स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।
Categorized in समाज