arin enterprises

कामपाका सार्वजनिक स्थानहरुमा भित्ते चित्र लेखिने

SamacharDesk – बिराज | २०८० फाल्गुण १७, बिहिबार

काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुमा भित्ते चित्र लेखन हुने भएको छ । यसका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबिच सम्झौता भएको छ ।

विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उप–प्रशासन प्रमुख कमलमणि काफ्लेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताबमोजिम स्वीकृत भएका डिजाइन र स्थानहरुमा प्रतिष्ठानले भित्ते चित्र बनाउनेछ । यो काम २०८१ जेठ मसान्तसम्ममा सम्पन्न गरिने बताइएको छ ।

भित्तेचित्र बनाउन प्रतिष्ठानले स्थान र क्षेत्रफलसहितको कार्ययोजना पेश गर्नेछ भने स्वीकृत कार्ययोजनाका आधारमा काम हुने कामपाले जनाएको छ ।

यसका लागि महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ । सम्झौता भएपछि ६० प्रतिशत अर्थात ३० लाख रुपैयाँ र कार्य सम्पन्न भइसकेपछि ४० प्रतिशत अर्थात २० लाख रुपैयाँ प्रदान गरिने सम्झौतामा उल्लेख छ ।

विभागका अनुसार पहिलो चरणमा माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, प्रदर्शनी मार्गका भित्ताहरु, अन्तरराष्ट्रिय बिमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरु चित्र लेखनका लागि स्वीकृत भएका छन् ।

Categorized in स्थानीय