arin enterprises

मस्कले उडाए फेसबुक इन्स्टाग्रामको मजाक

SamacharDesk | २०८० फाल्गुण २३, बुधबार

सामाजिक संजाल एक्सका मालिक एलन मस्कले फेसबुक, इन्स्टाग्राम र थ्रेड्स डाउनको मजाक उडाएका छन् । मंगलबार बेलुका विश्वभर यी प्लेटफर्महरु डाउन भएको समाचार आए लगत्तै मस्कले एक्समा ‘मिम’ राख्दै डाउन भएका प्लेटफर्महरूको मजाक उडाएका हुन् ।

मेटाका सञ्चार निर्देशक एन्डी स्टोनले एक्समा आफ्ना सामाजिक संजाल प्लेटफर्महरुमा समस्या आएको पोस्ट गरेका थिए । त्यही पोस्टको स्क्रिनशटलाई राखेर मस्कले मिम बनाएका हुन् ।

मिममा तीन ओटा मेटाका सामाजिक संजाल प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र थ्रेड्सको प्रतिक पेन्गुइनहरुले ह्याट र कालो चस्मा लगाएका एक्सको प्रतिक पेन्गुइनलाई सलाम गरेको देखाइएको छ ।

त्यस्तै अर्को पोस्टमा भने मस्कले लेखेका छन्, “तपाईंहरुले यो पोस्ट पढिरहनु भएको छ किनभने हाम्रो सर्भरले काम गरिरहेको छ ।” मस्कले मार्क जुकरबर्गका सामाजिक संजाललाई ब्यङ्ग हान्न खोजेको भन्दै एक्स प्रयोगकर्ताले प्रतिक्रिया दिइरहेका छन् ।

जुकरबर्ग अहिले मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहमा सहभागी हुन भारतमा छन् । जुकरबर्ग भारतमा हुनु र मेटाका यी प्लेटफर्महरु डाउन हुनुलाई संयोग मान्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले विभिन्न मिमहरु बनाई मजाक उडाइरहेका छन् ।

मंगबार बेलुका फेसबुक अकाउन्ट आफै लगआउट हुन् समस्या देखिएको थियो । कोहि त आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको भन्दै आत्तिएका पनि थिए ।

प्रयोगकर्ताहरुले आफ्नो अकाउन्ट ह्याक भएको आशंका गरी कैयौं पटक पासवर्ड रिसेट गर्दा पनि नभएको, टु फ्याक्टर अथेन्टिकेसन कोड राख्दा पनि नमिलेको भन्दै एक्स जस्ता बिभिन्न प्लेटफर्ममा गुनासो गरिरहेका थिए ।

विश्वव्यापी रुपमा नै मेटाका प्लेटफर्महरुमा आएको समस्या झन्डै १ घण्टापछि आफ्नो पुरानो लयमा फर्किएको थियो ।

यता मस्कले गोपनीयताको विषयलाई लिएर बेलाबखत मेटाका यी प्लेटफर्मको मजाक उडाइरहेका नै हुन्छन् । उनले मेटा अन्तरगतको कुनै पनि सामाजिक संजालहरु चलाउँदैनन् ।

Categorized in अन्तर्राष्ट्रिय