मुस्लिम समुदाय आज ईद पर्व मनाउँदै
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ १२, सोमबार

मुसलिम समुदाय आज ईद उल फित्र पर्व मनाउँदैछन् । रमजान महिना सकिएको खुसीयालिमा आज इद उल फित्र मनाइएको हो ।
अरवी पात्रो अनुसार हिजरी संवतको नवौं महिना रमजान महिनाभर व्रत बसी महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट ईद मनाउने चलन छ ।
चन्द्रमासको आधारमा तय गरिने ईद, रमजान सकिएर दशौं महिनाको पहिलो दिन मनाइन्छ ।
तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेपछि भोलिपल्ट ईद मनाउन आह्वान गरिन्छ ।
रमजान महिनाभर सूर्योदयदेखि सूर्यास्तसम्म पानीसम्म पनि नपिई बसिने व्रत सकाउँदै एक अर्कामा खुसीयाली बाँडि इद मनाउने गरिन्छ ।
ईदमा अल्लाहका नाममा विशेष नमाज पढ्ने परम्परा छ । ईदका दिन मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रोत्साहन गरिन्छ ।
धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र खजुर लगायतका मिष्ठान्न परिकार बनाएर खाने र खुवाउने चलन चल्दै आएको छ ।
ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम दान पनि दिने गरिन्छ ।
कोरोना महामारीबाट ईदको उल्लास पनि प्रभावित
ईदका धेरै परम्पराहरु यसपालि भने कोरोना महामारीका कारण प्रभावित बन्न पुग्यो ।
इदका दिनमा मस्जिदभित्र सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भएपनि मस्जिदमा ५ जना मात्रले र बाँकीले घर भित्रै बसी नमाज पढ्न नेपाल मुस्लिम आयोगको विशेष आग्रह गरेको थियो ।
त्यहि कारणले यसपालि मुसलिम समुदायले मस्जिदमा भेला भएर ईदको शुभकामना आदानप्रदान गर्दै ईद मुबारक भन्न पाएनन् ।
विशेष नमाज पाठ गरेर सानाले ठुलाबडासँग आशिर्वाद थाप्न जान पनि यसपालिको विषम परिस्थितीले अप्ठ्यारो नै बनायो ।
महामारी नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले जारी राखेको लकडाउनका कारण टाढा रहेका ठुलाबडाकोमा जाने परिस्थिती यसपालि रहेन ।
धेरै मुसलिमका लागि ईद मुबारक भन्ने र आशिर्वाद थाप्ने माध्यम सामाजिक संजाल वा प्रविधि नै बन्यो ।
राष्ट्रपति लगायतबाट ईदको शुभकामना सन्देश
यसैबीच राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले मुसलिम समुदायलाई ईदको शुभकामना सन्देश दिएका छन् ।
राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने पनि उल्लेख गरेकी छन् ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको प्रतिकूल परिस्थितिमा इस्लाम धर्मावलम्बीले घरघरमै बसेर इद उल फित्र पर्व मनाउने विश्वास सहित कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको बेला आवश्यक सावधानी अपनाएर पर्व मनाउनुपर्ने उल्लेख गरेका छन् ।
रमजानको रोजा पूरा गरी आज ईद मनाइरहेका इस्लाम समुदायलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सदभाव र सहिष्णुताको मौलिक पहिचान भएको भन्दै विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाई इद मनाउन आग्रह गर्नुभयो ।
साथै सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि शुभकामना सन्देश जारी गर्दै मुसलिम समुदायलाई घर मै बसेर सतर्कता अपनाई इद मनाउन आग्रह गरेका छन् ।
Categorized in संस्कृति