मुसलिम समुदाय बकर ईद मनाउँदै
SamacharDesk – बिराज | २०७८ श्रावण ६, बुधबार

आज विश्वभरीका मुसलिम समुदाय ‘ईद उल जोहा’ मनाउँदैछन् । बकर ईदको नामले समेत चर्चित यस पर्वलाई मुसलिम समुदायको दोश्रो ठुलो चाडको रुपमा लिइन्छ ।
ईस्लाम पात्रो ‘हिजरी सम्वत’ अनुसार नयाँ वर्षको महिनाको १०औं दिन यो पर्व मनाइन्छ । ईद उल जोहाका अवसरमा आज नेपालमा सरकारले राष्ट्रिय विदासमेत दिएको छ ।
आजको दिन मुसलिम धर्मावलम्बीहरु बिहान सबैरै उठेर नुहाएर शुद्ध भई मस्जिदमा गई नमाज पढ्ने गर्छन् । नमाज पढिसकेपछि एक आपासमा अङ्गालोमा बाँधिएर ईद मुबारक भन्दै शुभकामना आदानप्रदान गर्ने गर्छन् ।
आज मुसलिम समुदायमा कुर्वानी अर्थात बलि दिने चलन छ ।
बोका, खसी, राँगा आदिको कुर्वानी दिइसकेर मासुको तीन भाग लगाइन्छ । तीन भागमा एक भाग आफ्नो लागि राखिन्छ भने अर्को एक भाग आफ्ना नजीकका मित्र, साथीभाईहरुलाई र तेश्रो भाग गरीब तथा असहायलाई दान दिने गरिन्छ ।
गरीबहरुले पनि हर्षोल्लासका साथ चाड मनाउन पाउन् भने धनी मानिसहरुले आफ्नो संचित धनको पाँच भागको एक भाग अर्थात २० प्रतिशत गरिबहरुलाई दान दिने गर्छन् ।
आज ईदको खुसियालीमा कुर्बानी दिएकै पशुकै मासुको साथमा बिरयानी आदि मिष्ठान्न भोज पकाएर परिवार भेला भएर खाने गरिन्छ । साथमा मुसलिमको साथमा गैर मुसलिम ईष्टमित्रलाईसमेत बोलाएर खुवाउने गरिन्छ ।
आजबाट मक्कामा हज जाने समापन भएको मानिन्छ । मुस्लिमहरूकालागि जीवनमा एकफेर साउदी अरबको मक्कामा हज तिर्थयात्रामा जानु जरुरी मानिन्छ ।
बकर ईदको सम्वन्धमा मुस्लिम धर्मग्रन्थ कुरानमा एक किम्वदन्ति लेखिएको छ । उक्त किम्वदन्ति अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा अल्लाहले आफ्नो सबभन्दा प्रिय वस्तु मागेछन् ।
त्यसपछि उनले सपनामै आफ्नै छोरालाई बलि दिएको देखेछन् । त्यसको भोलिपल्ट विपनामा त्यसैगरी छोरालाई बलि दिन खोजेपछि छोरालाई केही नभई आफूसँग रहेको भेंडा मरेछन् ।
सोही घटनाको सम्झनामा यो पर्व मनाउन थालिएको विश्वास छ ।
यो चाड हजरत मोहम्मदको स्वीकृतिले मनाउँदै आएको विश्वास पनि मुसलिम समुदायमा रहेको छ ।
Categorized in संस्कृति