भ्रष्टाचारीलाई चुनौती दिन मेरो उम्मेदवारी – विराज
SamacharDesk – बिराज | २०७९ कार्तिक २, बुधबार

काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विराजभक्त श्रेष्ठले भ्रष्टाचार र भ्रष्टाचारीलाई चुनौती दिन आफुले उम्मेदवारी दिएको बताउनुभएको छ ।
समाचारडेस्कसँग कुरा गर्दै पूर्व बागमती प्रदेश सभासद् र आसन्न संसदीय निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रेष्ठले यस्तो बताउनुभएको हो ।
‘अब हामी भ्रष्टाचारीको कुरा सुनेर ताली मात्र बजाउने मान्छे होइनौं, हाम्रो क्षेत्रमा विधिको शासन हामीले नै स्थापना गर्ने हो । भ्रष्टाचार र भ्रष्टाचारीलाई चुनौती दिन नै मैले उम्मेदवारी दिएको हो’ श्रेष्ठले भन्नुभयो ।
साथै, आफुले बागमती प्रदेश सभामार्फत सिकेका संसदीय अभ्यास, अनुभव र ज्ञानलाई प्रतिनिधि सभामा सशक्त सदुपयोग गर्ने श्रेष्ठले भने । बागमती प्रदेश सभाको पहिलो कार्यकालमा व्यक्तिगत सिकाई र समग्र संघीयता कार्यान्वयनको पक्ष निकै फलदायी रहेको बताउँदै अनुभव र सिकाइको सदुपयोग प्रतिनिधि सभामा गर्ने उनले बताए ।
‘प्रदेश सभासदको रुपमा युवा, महिला, बालबालिका, जनजाति, आदिवासी, अल्पसंख्यक साथै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यावरण, संस्कृति, सम्पदाको संरक्षण र विकासमा सक्रिय भूमिका खेल्दै बजेट, कानून र नीति निर्माणमा शशक्त भूमिका खेल्न सफल भएँ । अब संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा मार्फत विगतको अनुभवको सशक्त सदुपयोग गर्नेछु’ श्रेष्ठको भनाई हो ।
अहिले श्रेष्ठ चुनाबी प्रचारको क्रममा घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । घरदैलो कार्यक्रममा आफु विशेष गरी क्षेत्र नम्बर ८ का स्थानीय जनताको समस्या र अपेक्षा सुन्नमा.केन्द्रीत भएको श्रेष्ठले जानकारी दिए ।
वागमती प्रदेश सभाका पूर्व सदस्य श्रेष्ठ युवा पुस्तामा लोकप्रिय नेताको रुपमा लिने गरिन्छ । काठमाडौं क्षेत्र नम्बर ८मा विशेष गरी स्वतन्त्र पार्टीका उम्मेदवार श्रेष्ठ र नेकपा (एस) का उम्मेदवार जिबनराम श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिँदैछ ।
Categorized in राजनीति