नाला करुणामयको जात्रा सम्पन्न
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ फाल्गुण २६, शुक्रबार

काभ्रे नालामा करुणामय सृष्टिकान्त लोकेश्वरको जात्रा सम्पन्न भएको छ । शुक्रबार नाला करुणामयलाई खटमा बोकी नाला नगरको परिक्रमा गराई जात्रा सम्पन्न भएको हो ।
नाला करुणामयको हरेक वर्ष चैत्र कृष्ण तृतियाको दिन खटमा राखी नालाको नगर परिक्रमा गराइ जात्रा गर्ने परम्परा रहेको छ ।
यस अघि चैत्र कृष्ण प्रतिपदाको दिन अर्थात् होलि पुर्णिमाको भोलिपल्ट करुणामयको महास्नान गर्ने गरिन्छ । यसलाई स्थानीय नेपालभाषामा ‘करुणामयया न्हवं’ भनिन्छ ।
यसरी करुणामयको महास्नान गराइसकेपछी उनको प्राणलाई मूर्तिबाट सारेर ब्रम्हकलशमा राखिन्छ ।
त्यसको भोलिपल्ट मुर्तिमा रंगरोगन गरी त्यसरात उनको दशकर्म पुजा समेत गरीन्छ । दशकर्म पूजा सम्पन्न भएपछि नाला करुणामयको खट जात्रा गर्ने गरिन्छ ।
नाला करुणामयको दर्शन गर्नाले अष्टभय नाश हुने र निरोगी हुने जनविश्वास रहेको छ । प्राचीन नेपालखाल्डोका प्रमुख चार करुणामयहरु रहेका छन् ।
बुंगमतीको र चोभारमा रहेको करुणामयलाई रातो मच्छिन्द्रनाथको रुपमा पनि लिइन्छ भने काठमाडौं र नालामा सेतो वर्णका करुणामय छन् ।
चार मध्ये एक मानिने सृष्टिकान्त लोकेश्वर काभ्रे जिल्लाको नालास्थित पुण्यमती नदि किनारमा अवस्थित छ ।
नाला करुणामयको किम्वदन्तिः
सृष्टिकान्त लोकेश्वर नालामा कसरी स्थापित भयो भन्ने बारे विभिन्न कथा किंवदन्तीहरु रहेको पाइन्छ । किम्वदन्ति अनुसार नाला करुणामय पनि सुरुमा बुङ्गमतीमै रहेको भनिन्छ ।
हाल नाला करुणामयलाई राखिएको मन्दिर विगतमा नारायणको मन्दिर भनिन्छ । कुनै समयमा भोटबाट आएकाहरुले करुणामयको मुर्ती बुङ्गमतीबाट चोरेर लगे ।
चोरी गरिएको मुर्ति बोकेर भोटतर्फ गइरहेको बेला नालामा पुण्यमती नदिमा बाढी आयो । बाढिको बीचमा उनीहरु जान नसकेपछि मुर्तिलाई सोही नदिमा छाडेर उनीहरु त्यहाँबाट भागे ।
यसरी नदिमा बेवारिसे अवस्थामा परेपछी नाला करुणामयले नालाको द्यःला, बुङ्गमतीको पान्जु र बनेपाका राजालाई आफू नदिमा बेवारिसे अवस्थामा रहेको सपना देखाए ।
करुणामयलाई सपनामा देखेपछि त्यहाँका पान्जु नालामा आइपुगे र नालाको द्यःलाले पनि सोही कुरा बताएपछी राजालाई बताए ।
तीनै जनाले एकै खालको सपना देखेको थाहा पाएपछि यो संयोग हैन भन्ने कुरा मनमा चिताइ सपनामा देखाएको स्थानमा गइ खोजतलास गर्दा मुर्ति भेट्टाए ।
मूर्ति भेट्टाएपछि कहाँ राख्ने भन्ने कुरा हुँदा पुण्यमती नदि छेउमा रहेको नारायण मन्दिरमा प्रतिस्थापन गर्ने कुरा भएछ । हाल पनि करुणामयको दाहिने पट्टि नारायणको मुर्ति देख्न सकिन्छ ।
पहिला बुङ्गमतीमा रहेकोले आजसम्म पनि करुणामयको कर्मकाण्डहरु बुङ्गमतीका पाञ्जुहरुबाटै हुने गरेको छ ।
Categorized in संस्कृति