रहेनन् १० पटकसम्म वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकार
SamacharDesk | २०८० फाल्गुण २८, सोमबार

ललितपुर महानगरपालिका (लमपा) वडा नं १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । आइतबार नर्भिक अस्पतालमा उपचारको क्रममा व्यञ्जनकारको निधन भएको हो ।
उनलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार नै अस्पताल लगिएको थियो । सोही क्रममा व्यञ्जनकारको ८२ बर्षको उमेरमा मृत्यु भएको हो ।
उनी लगातार १० पटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा १० का वडाध्यक्षमा निर्वाचित भएका थिए ।
व्यञ्जनकारको वडाध्यक्ष यात्रा २०२९ सालबाट सुरू भएको थियो । त्यतिबेला उनले स्वतन्त्र उम्मेदवारमा उठेर कांग्रेसबाट उठेका आफ्नै भाइ (माइला बाका छोरा) कर्मलाल व्यञ्जनकारलाई हराई पहिलो पटकमा नै चुनाव जितेका थिए ।
त्यसपछि यो वडाको जिम्मेवारी उनले कसैको हातमा जान दिएका थिएनन् ।
पञ्चायत कालका वडाध्यक्ष बनेका व्यञ्जनकारलाई बहुदल आएलगत्तै २०४९ सालको चुनाव लड्न नेपाली कांग्रेसले टिकट दिएको थियो । त्यसबेला पानि उनले निर्विरोध वडाध्यक्षको पद हासिल गरे ।
त्यसतै २०५४ सालमा उनलाई कांग्रेसले टिकट दिएन । कुनै पार्टीले टिकट नदिएपछि व्यञ्जनकारलाई फेरि वडावासीले स्वतन्त्र उम्मेदवार बनाए। उनले स्वतन्त्र उम्मेदवारवाटै फेरि चुनाव जिते । त्यो चुनावमा उनले बाँकी सबै उम्मेदवारको जमानतै जफत भयो ।
२०७४ मा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए ।
तर, पछिल्लो स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार उठेका आफ्नै ४४ वर्षीय भतिज रविनमान व्यञ्जनकारसँग उनी पराजित भए ।
त्यतिबेला नरसिंह नेपाली कांग्रेसका उमेदवार रविनमानसँग २८२ मतले पराजित भएका थिए ।
नरसिंहले ५४३ मत ल्याउँदा रविनमानले ८२५ मत ल्याएका थिए ।
Categorized in स्थानीय