arin enterprises

महामारीका बीच नृसिंह जात्रा सम्पन्न

SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण २४, शनिबार

महामारी र संक्रमणका जोखिम बीच ललितपुर नगरको ऐतिहासिक नृसिंह जात्रा ‘उपाकलं सायाः’ सम्पन्न गरिएको छ ।

ललितपुरका राजोपाध्याय देव ब्राम्हणहरुको उपाकर्म गुठीबाट संचालन गर्दै आएको जात्रा यसपालि औपचारिकता मात्र पूरा गर्ने हिसाबले निकै थोरै व्यक्तिहरुको उपस्थितीमा सम्पन्न गरिएको हो ।

दैवीप्रकोप र महामारीबाट रक्षा गर्ने देवताका रुपमा विश्वास गरिने नृसिंह भगवानको जात्रामा यसपालि नृसिंह समेत मात्र चार जना देवगण निकालेर सम्पन्न गरिएको हो ।

आज जात्राको क्रममा नृसिंह र दायाँबायाँ लक्ष्मी, सरस्वती अनि धुपाञ्जली सहित नृसिंहको अघि प्रल्हाद गरी चार जना देवगण मात्र निकालिएको थियो ।

विगतका वर्षहरुमा भजन समूहले वातावरणलाई संगीतमय बनाउने गथ्र्यो भने नृसिंह देवगणको अगाडी अप्सरा गण पनि हुने गर्दथ्यो । साथमा पछिल्ला वर्षहरुमा त राजोपाध्याय युवाहरुको समूह ‘कुब्जिका’ले धिमेयको तालसँगै माहौललाई अझ गर्माउने गर्थ्यो ।

यस वर्ष भने यस किसिमका कुनै तामझाम नगरी सावधानी र सुरक्षाका उपायहरु अपनाउँदै औपचारिकतामात्र पूरा गरी सामान्य रुपमा नृसिंहलाई नगर परिक्रमा गराइएको हो ।

दर्शनार्थीलाई पनि टाढैबाट दर्शन गर्न अनुरोध गरिएको थियो भने ठाउँ ठाउँमा पूजा लिने कार्य पनि यसपालि बन्द भयो । स्वयम्सेवकहरुलाई पनि पिपिई, मास्क, पञ्जा, फेससिल्ड लगायतका सुरक्षाका साधनहरु लगाउन दिइएको थियो ।

उपाकर्म गुठी ललितपुरका सदस्यहरुमा ज्येष्ठताको आधारमा पालो चलाइने यस जात्रा यस वर्ष महाद्यःननि निवासी स्व. कुमारधर शर्माको घरबाट चलाइएको हो । पालोवाला शर्माको निधन भएपछि उनका छोरा सौरभ कुमार शर्माले यस वर्षको जात्रा चलाएका थिए ।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महाद्यःननिमा पनि आवश्यक व्यक्तिबाहेक अरुलाई प्रवेश गर्न दिइएको थिएन ।

यस वर्ष महाद्यःननिबाट निकालिएको जात्रा कुन्छेँ, पूर्णचण्डी, गाःबहाल, प्यंगथां, चल्खु, पिम्बहाल हुँदै स्वनिम्ह, मिखाबहाल, नकबहिल, नागबहाल, धलाचा, क्वाल्खु, क्वाःबहाल, झटापोल, कुम्भेश्वर, क्वबहाल, कुलिम्ह, स्वथ, मंगलबजार, हःखा, सौगल, चाल्छेँ, सुन्धारा, महाबौद्ध, ओकुबहाल, ज्याथा, थापाहिटि, थैना, चक्रबहिल, चाबहाल, हौगल, तिच्छुँगल्ली, इखालखु, बालुखा, जेनबहाल, वला हुँदै पुनः महाद्यःननिमै पुगेर सम्पन्न भएको थियो ।

पालोवालाको घरबाट शुरु भएर त्यहिँ सम्पन्न हुने जात्राले ललितपुरको प्राचीन नगरीको क्षेत्र सायाः रुट परिक्रमा गर्ने गर्दछ ।

 

यस वर्ष जात्रा गर्ने वा नगर्ने भन्ने अन्यौलताका बीच सरकारबाट जात्रापर्व संचालन सम्वन्धी निर्देशिका जारी भएपछि सोही निर्देशिकाको आधारमा जात्रालाई निरन्तर गरिएको हो ।

विगतमा श्रीधर नारायणको जात्रा संचालन हुने गरेकोमा कारणवश सो जात्राको स्वरुपलाई नै परिवर्तन गरेर नृसिंह जात्राको रुपमा संचालन गर्न थालिएको कथन छ ।

यो जात्राको लिखित प्रमाण भने राजा सिद्धिनरसिंह मल्लको पालादेखिको भेट्टिएको छ ।

ललितपुरमा कार्तिक नाचको समयमा दैत्य वध गर्नका लागि निकालिने नरसिंह उग्ररुपका हुन् भने उपाकलं सायाःमा निकालिने नरसिंह दैत्य वध गरिसकेर शान्त भएका शान्तरुपका नरसिंह हुन् ।

भिडियो – श्रवणकुमार महर्जन

Categorized in संस्कृति