arin enterprises

अभिव्यक्ति स्वतन्त्रताको संवाहक: राष्ट्रिय लेखक दिवस

SamacharDesk – राम डंगोल | २०७९ चैत्र ३, शुक्रबार

आज राष्ट्रिय लेखक दिवस । नेपाली प्रजातान्त्रिक जागरुकता अनि बहुदलको इतिहासमा लेखक अनि साहित्यकारहरुको ठुलो देन छ ।साहित्कार लेखकहरुको सोही योगदानको स्मरण र सम्मानमा हरेक वर्ष चैत्र ३ मा राष्ट्रिय लेखक दिवस मनाउने गरिन्छ ।

हुन त लेखक दिवस कहिले हो भन्ने कुरामै अन्यौल देखिन्छ । कसैले चैत्र २ गते त कसैले ३, अझ कतिले १० गतेको दिनमा लेखक दिवस मनाएको पनि पाइन्छ ।

जुन दिन मनाए पनि लेखक दिवस मनाउनुका तात्पर्य ती व्यक्तिहरुको सम्मान नै हो जसले आफ्नो कलम चलाएर १०४ वर्ष जहाँनिया राणा शासनको अन्त्य गर्नदेखि लिएर निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्न, देशमा परिवारको शासन अन्त्य गरी जनवादी गणतन्त्रको स्थापनासम्मका लागि, आफ्नो अधिकारको लागि लड्न आह्वान गरे ।

वि.सं. १९८७ सालमा निरंकुश राणा शासनमा राज्यका तर्फबाट भएको ज्यादती विरुद्ध संगठित हुन सुरु गरिएको पुस्तकालय अभियानलाई ‘पुस्तकालय पर्व’ का नामले सम्झिने गरिन्छ छ । नेपालमा राजनीतिक दलहरू खोल्नुपूर्व नै सचेत जनस्तरबाट संगठित भएर निरंकुश शासकविरुद्ध यो नै सिर्जनात्मक चेतको पहिलो विद्रोह थियो ।

यस अभियानको क्रममा १९८७ वैशाख १६/१७ गते राज्यद्रोह गरेको नाममा पुस्तकालय अभियानमा संलग्न ४५ जना स्रष्टाहरूलाई राज्यका तर्फबाट विभिन्न मुद्दा लगाई, दण्ड जरिवाना र जेल चलान गरिएको थियो । स्रष्टाहरूले राजनीतिक परिवर्तनका लागि चालेको संगठनात्मक चेतको उच्च स्मरण गर्दै उक्त ऐतिहासिक दिनलाई नेपाली लेखक सङ्घले ‘लेखक दिवस’ मनाउने निर्णय गरेको हो ।

भनिन्छ, “तरवार भन्दा कलम बलियो हुन्छ” त्यही कलमको शक्तिले विश्वमा ठूल्ठूला परिवर्तनहरु भएका छन् । नेपालमा पनि जहाँनिया राणा शासन तथा निरंकुश राजतन्त्र फाल्न लेखकहरुको ठूलो भूमिका रहेको छ ।

लेखकले लेखेको लेखनबाटै जनताहरु सुसूचित हुने, जागरूक हुने र आफ्नो अधिकारको लागि, आफ्नो अभिव्यक्ति स्वतन्त्रताको लागि आवाजहरु उठाउने गरेको पाइन्छ ।

नेपालमा २०४६ सालको आन्दोलन होस् या ६२/६३ को आन्दोलन होस्, यो सबै विभिन्न पत्रपत्रिकाहरुमा लेखेको समाचार, लेख तथा विभिन्न कार्टुनको माध्यमबाट जनताहरु सुसूचित भएरै ती निरंकुश तन्त्रहरु फाल्न सफल भएको देखिन्छ ।

लेखन दिवसको अवसरमा विगत २ दशकदेखि देशको राजनीतिलाई नजिकबाट नियाल्दै कलम चलाउँदै आउनु भएका विश्लेषक संकेत कोइरालाका अनुसार कलमको तागतबाटै विचार निसृत हुन्छन् । कालजयी कीर्ति सर्जक बनेर लेखक सधैं बाँच्छ ।

एक अमेरिकी लेखकले भनेका छन– ‘लेख, केही न केही लेख । केही पाएनौ भने सुसाइड नोट भए पनि लेख ।’ भनिन्छ, लेख्न कठिन छैन । आफ्ना अगाडि रित्तो पन्ना फैलाऊ र हृदयलाई तप्किन देऊ, आफैमा लेखिन्छ । राम्रो अनुष्ठान गर्नेहरुका लागि हरेक समय शुभसाइत हो ।

स्रष्टाका लागि समयको हरेक पल दिवस हो । २४ घण्टाको यही समयले कसैलाई बिल गेट्स बनाएको छ त कसैलाई बिन लादेन । आइन्स्टाइन, डार्विन, शेक्सपियर यही समयका करामत हुन् । यिनीहरुले सबै भौतिक उपस्थितिले नभई विचारले बाँचेका छन् ।

विचार भनेको पुस्तौंसम्म विस्तार हुने अत्तरको बासना हो । लेखकका लागि हरेक अक्षर प्राण हो । समाज जीवित छ, छैन लेखकको कलमले निर्दिष्ट गर्छ । मन र मस्तिष्कको मेलबाट निस्किएको चैतन्य र ज्ञान समाज डोर्याउने राजमार्ग हो ।

राष्ट्रपति रामचन्द्र पौडेलको कार्यालय प्रयोजनका लागि खिचिएको फोटोमा चौबीस घण्टा नवित्दै सच्चिनुको दृश्य त्यही विचारको शक्ति हो । त्यो विचार धर्मदर्शन, सामाजिक सञ्जाल, पुस्तक जुनकुनै माध्यमबाट प्रवाहित भएको हुनसक्छ ।

विचारले नै त हो, मानिसलाई निराशाबाट आशामा अनुवाद गर्नसक्छ । मृत्युलाई मोक्षमार्गमा लैजान समर्थ हुन्छ । अरु सबै सकिएपनि भविष्य बाँकी छ भन्ने सामथ्र्य कलमले नै बोक्छ । एउटा शान्त कोठामा चारवटा मैनबत्ती बलिरहेका थिए ।

पहिलोले दुखी हुँदै भन्यो– ‘म शान्ति हुँ , मलाई कसैले निरन्तरता दिन चाहँदैन । मनले रुचाए पनि मस्तिष्कमा मप्रति सकारात्मक धारणा छैन । यस्तो स्थितिमा मैले बल्नुको कुनै अर्थ छैन ।’ यस्तो सोच्नासाथ ऊ झ्याप्पै अन्धकारमा परिणत भयो ।

दोस्रो बत्ती पहिलोभन्दा कम दुखी थिएन । उसले आफ्नो परिचय दियो– ‘म विश्वास हुँ । मलाई अधिकांश मानिस टिकाउन समर्थ हुँदैनन् । यदि म कसैका लागि रुचिकर हुन्न भने बल्नुको के अर्थ ?’ त्यतिबेलै आएको हावा झोंकाले बत्तीको प्राण लियो ।

तेस्रो बत्तीको नाम थियो– विश्वास । उसको आफ्नै दुखेसो थियो– ‘मभित्र अब बल्ने तागत नै सकिएको छ । मेरो महिमा मानिसले बुझ्न छोडिसकेका छन् ।’ निराशाको कालो बादलले घेरिएको ज्ञानले परिवेश अन्धकार बनाएर तत्काल निभ्ने कठोर निर्णय लियो ।

अँध्यारोको आयतन झन् फैलियो । एउटा अबोध बालक त्यतिबेलै त्यस कोठामा प्रवेश गर्यो । उसले देख्यो तीन बत्ती बलिरहेका थिएनन । निभेका तीन बत्तीलाई उसले रुँदै प्रश्न गर्यो– ‘तिमीहरुको धर्म बल्ने हुँदाहुँदै किन निभ्ने अप्रिय निर्णय लियौ ?’

बालक दुखी भएको देखेर जलिरहेको बत्तीले ढाड्स दिँदै भन्यो– ‘म आशाको दीप हुँ । म बल्दाबल्दै तिमीले चिन्ता लिन जरुरी छैन ।यो सुन्नासाथ बालकको अनुहारमा एकाएक चमक आयो । उसले त्यही आशाको दीप हातमा उठाएर शान्ति, विश्वास र ज्ञानलाई पुनर्जीवित तुल्यायो ।

हो, कलमको तागतबाट यस्ता विचार निसृत हुन्छन् । यस्ता कालजयी कीर्ति सर्जक बनेर लेखक सधैं बाँच्छ । वादविवादमा त्यसै भनिएको होइन– तरबारभन्दा कलम शक्तिशाली भनेर ।

राष्टिय लेखक दिवस २०४६ को आन्दोलनपछि औपचारिक रुपमा घोषणा भएको हो । नेपालको हरेक सामाजिक र राजनैतिक विकासक्रम अनि आन्दोलनमा प्रगतिशील लेखकहरुको ठुलो भूमिका छ ।

आन्दोलनमा गाइने गीत देखि प्लेकार्डका शब्द अनि गीतदेखि व्यङ्ग्यसम्म यिनै लेखकले तय गरिदिन्छन् । कविताका फोहोराले प्रहरीको गोली त बिर्साएको थियो । चाहे त्यो ४६ साल होस् या ६२ र ६३ कै आन्दोलन किन नहोस् ?

अहिले त सामाजिक सञ्जालको डीजिटल युगमा लेखक अनि विश्लेषकहरुले विचार र विश्लेषणको दिनहुँ उजागर कार्य गर्दछन् । तर उतिबेला ४६ साल ताका कुरा पृथक थियो । फेसबुकको स्ट्याटस हैन भौतिक उपस्थिति र चिच्याहटले आन्दोलनलाई साकारोक्ति दिने गर्दथ्यो ।

वि.सं. २०४६ चैत्त ३ मा जनआन्दोलनलाई समर्थन गर्दै लेखक अनि कलाकारहरुले मुखमा कालोपट्टी बाँधेर आन्दोलन गर्ने निश्चय गरियो । एकेडेमी हल अगाडि गरिने भनिएको उक्त आन्दोलनको सुइँको सरकारले पहिल्यै पाएकाले चैत्र ३ मा उक्त स्थानमा प्रहरी विहानैबाट तैनाथ थिए ।

पछि उक्त विरोध कार्यक्रम त्रिचन्द्र कलेजमा गरियो । कलाकार अनि लेखकको यो आन्दोलनले जनमानसको आन्दोलनप्रतिको विश्वास अझ बढ्ने तय थियो । निन्दा अनि जनताको सरकार प्रतिको हेयभाव लेखक पक्राउ पछि झनै बढेको पत्तो पाएर एक एक गरि लेखक र कलाकारलाई मुक्त गरियो ।

यसरी ४६ सालको जनआन्दोलनले पुनः गतिशीलता पायो र चैत्र १६, १७ हुँदै आन्दोलन अघि बढ्दा काठमाण्डौंका हरेक चोक र चौराहामा आन्दोलन दन्किन थालिसकेको थियो । चैत्र २६ गते महाप्रदर्शनीको तयारी थियो र कफ्र्यू आदेशका बावजूद जनमानसको भीमकाय सहभागिताको त्रास र चापमा तत्कालीन सरकारले बहुदलको घोषणा गरेको थियो ।

अतः एउटा सानो दियोले प्रकाश छरेर अन्धकारलाई उज्यालो बनाए जस्तै लेखकको विचारले आफ्नो अधिकार कुण्ठित पारेर बसेका, वर्षाैंदेखि थिचोमिचोमा परेका, वाक स्वतन्त्रताको लागि आवाज उठाइरहेकाहरुका लागि उर्जावान बनिरहेको हुन्छ ।

Categorized in विचार