नेकपा प्रचण्ड–नेपाल समूहको दोश्रो चरणको आन्दोलन घोषणा
SamacharDesk – बिराज | २०७७ पौष १८, शनिबार

सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रधानमन्त्री ओलीबाट संसद विघटन गरिएको विरोधमा पार्टीले दोश्रो चरणको आन्दोलन घोषणा गरेको हो ।
आज घोषणा गरिएको आन्दोलनका कार्यक्रमहरु अनुसार आउँदो माघ २३ गतेसम्म देशभर अभिमुखीकरण कार्यक्रम, अन्तरक्रिया विरोध सभादेखि लिएर मसाल जुलुससम्म गरिने भएको छ ।
पार्टीबाट जारी प्रेस विज्ञप्तीमा विरोधका कार्यक्रम विभिन्न मितिमा विभिन्न तहमा पार्टी भेला, संघर्ष सम्वन्धि अभिमुखीकरण, प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन गर्ने भनिएको छ ।
त्यस्तै घरघरमा पर्चा वितरण, टोल टोलमा कालो झन्डा गाड्ने, व्यानर झुन्ड्याउने, विरोध सभाहरु गर्ने, मोटरसाइकल याली गर्ने लगायतका कार्यक्रम पनि घोषणा गरिएको छ ।
पुस २१ गते विभिन्न राजनीतिक पार्टीहरुसँग, २३ गते नागरिक समाजसँग अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।
पुष २४ गते भने देशैभरीका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र र संविधानको बुझाइ राष्ट्रको नाममा क्षमायाचना गर्न अनुरोध गरिने भएको छ ।
आउँदो माघ २२ गते भने देशैभरीका विभिन्न स्थानबाट मसाल जुलुस निकाल्ने पार्टीबाट जारी विज्ञप्तीमा भनिएको छ । माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गरिने भएको छ ।
आन्दोलनका कार्यक्रमबीच उद्योगी, व्यवसायीको साथै लेखक, कलाकार, बुद्धिजिवीहरुसँग पनि अन्तरक्रिया गर्ने, परामर्श गर्ने कार्यक्रम पनि पार्टीले राखेको छ ।
