arin enterprises

नेपाल–इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा सम्पन्न

SamacharDesk | २०७९ चैत्र १०, शुक्रबार

नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा विहीबार काठमाडौंमा सम्पन्न भएको छ ।

नेपाल र मित्रराष्ट्र इटालीबीच बढ्दो व्यापार व्यवसायलाई थप व्यवस्थित गर्दै लगानी तथा पर्यटन क्षेत्रलाई फराकिलो बनाउने उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल र इटालीबीच कुटनीतिक सम्बन्ध स्थापना भएको करिब साढे ६ दशक पूरा भएको छ । सन् १९५९ अगस्ट ३१ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

यो अवधिमा दुई मुलुकबीचको सम्बन्ध सुमधुर रहेको र व्यापार व्यवसाय पनि उल्लेख्य नै रहेको परिदृश्यमा दुई मुलुकबीचको आर्थिक सम्बन्धलाई थप बलियो र सशक्त बनाउन नेपाल–इटाली चेम्बर अफ कमर्स स्थापना भएको हो ।

कार्यक्रममा कार्यवाहक अध्यक्ष ध्रुवकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्दै भन्नुभयो, “नेपालको सांस्कृतिक, वस्तु सम्पदा र ऐतिहासिक सम्पदाको पुनर्निर्माणको क्षेत्रमा इटालीको योगदान प्रति हामी आभारी छौं र यो सहयोग हाम्रा दुई देशबीचको मित्रताको चिरस्थायी प्रतीकको रूपमा रहने छ भन्ने हाम्रो विश्वास रहेको छ ।”

कार्यक्रममा नेपाल इटाली उद्योग वाणिज्य क्षेत्रमा योगदान पुर्याउनु भएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । जसमा विशेष सम्मान नेपाल इटाली चेम्बर अफ कमर्सका विशिष्ठ मानार्थ सदस्य राजेशकाजी श्रेष्ठलाई प्रदान गरिएको थियो ।

त्यस्तै नेपाल र इटालीबीच व्यापार क्षेत्रमा उत्कृष्ट आयातकर्ताका रुपमा विनोद सगतानीलाई प्रदान गरियो । इटालीतर्फ नेपाली वस्तु निर्यातको लागि उत्कृष्ठ निर्यातकर्ताको रुपमा राजु श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो ।

नेपाल इटली चेम्बर अफ कमर्सका तर्फबाट नेपालमा इटालीका पर्यटक सबैभन्दा बढी भित्र्याउन सफल भई पर्यटन क्षेत्रमा पु¥याएको योगदान लागि पिस इन्टरनेशनल टुर एन्ड ट्राभल्सका प्रवन्ध निर्देशक सर्वोत्तमलाल श्रेष्ठलाई सम्मान प्रदानगरिएको थियो साथै फायर एण्ड आईस पिज्जेरियालाई उत्कृष्ट लगानीकर्ताको रुपमा सम्मान प्रदान गरियो ।

इटालीले नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विकास सहयोग प्रदान गर्दै आएको छ । विशेषगरी सन् १९९० मा प्रजातन्त्र आएपछि इटालियन सरकार र जनताले नेपालमा सहयोगको मात्रा बढाउँदै लगेका छन् ।

यस्तै, सन् २०१५ को विनाशकारी भूकम्पपछि पीडितलाई उल्लेख्य मात्रामा इटालियन सहयोग प्राप्त भएको छ । नेपाल इटली चेम्बरमार्फत द्विपक्षीय व्यापार अभिवृद्धि सँगै नेपालमा इटालीबाट लगानी भित्र्याउने तथा नेपालमा इटलीका पर्यटकको संख्या बढाउन अभिप्राय रहिआएको छ ।

नेपाल र इटालीबीचको सम्बन्ध मित्रता, आपसी हित र सौहार्दतामा आधारित छ ।

Categorized in बिजनेस