arin enterprises

नेपाल एसीसी प्रिमियर कप च्याम्पियन

SamacharDesk | २०८० बैशाख १९, मंगलबार

युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

आज त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा गुलशन झाले अर्धशतकीय इनिङ्स खेलेका थिए । यससँगै नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा छनोट भएको छ ।

जितका लागि युएईले दिएको एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ३०.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालको जितमा गुलशन झाले अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

उहाँले ८४ बलमा तीन चौका र ६ छक्काको सहयोगमा अविजित ६७ रन बनाउनुभएको हो । गुलशनको यो एक दिवसीय खेल जीवनको दोस्रो अर्धशतक हो । भीम सार्कीले अविजित ३६ रन बनाउनुभयो ।

भिमले ७२ बलमा चार चौकाको सहयोगमा उक्त रन जोड्नुभएको हो । १० टोली सहभागी यस प्रतियोगिताको शीर्ष तीनमा परेसँगै नेपाल, युएई र ओमानले एसीसी इमर्जिङ टिम्स एसिया कपको यात्रा पनि सुनिश्चित गरेका छन् ।

त्रिवि मैदान कीर्तिपुरमा लगातार वर्षाका कारण सोमबार बीचमै रोकिएको खेल मंगलबार बिहान पुनस् सुरु भएको थियो । सोमबार वर्षा हुनुअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा नौ विकेटको क्षतिमा एक सय ६ रन जोड्दा पानी परेपछि खेल रोकिएको थियो ।

मंगलबार सोही ओभरबाट सुरु भएको खेलमा युएईले ३३।१ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । युएईलाई सस्तैमा समेट्न बलिङमा नेपालका ललित राजवंशीले चार विकेट लिनुभयो ।

सन्दीप लामिछाने र करण केसीले दुई दुई तथा सोमपाल कामी र गुलशन झाले एक एक विकट लिनुभयो ।

Categorized in स्पाेर्ट्स