arin enterprises

काठमाडौंमा बन्दको प्रभाव आंशिक

SamacharDesk | २०७९ भाद्र ७, मंगलबार

सरकारले आपूmहरुसँग गरेको ३ बुँदे सम्झौता पूरा नगरेको भन्दै नेत्र विक्रम चन्द नेतृत्वले गरेको आजको नेपाल बन्द आंशिक प्रभाव परेको छ ।

विप्लब नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले मंगलबार गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यका र देशभर न्यून मात्र परेको छ ।

सरकारसँग वि.सं. २०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग गर्दै विप्लव नेतृत्वको नेकपाले आजका लागि देशव्यापी बन्दको घोषणा गरेको थियो ।

पार्टीले अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज हुनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायत माग राखेर बन्दको घोषणा गरेको हो ।

बन्दले गर्दा आज बिहान भने केही कम सवारी साधन मात्रै सञ्चालनमा थिए । बन्दको घोषणापछि बिहानैबाट प्रमुख चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् ।

काठमाडौं उपत्यकामा बन्दको प्रभाव खासै नदेखिएपनि देशका अन्य विभिन्न भूभागमा भने सवारीसाधन तोडफोड र शंकास्पद वस्तु फेला परेको बताइएको छ ।

बन्दको क्रममा काभ्रेमा गाडीको सिसा फुटाउने दुई जनालाई स्थानीयबासिन्दा र चालकहरुले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।

कुटाइ खानेमा नेकपा काभ्रे जिल्ला सचिवालय सदस्य प्रमोद गिरी र जुम्लाको तिलागुफा–३ बस्ने २४ वर्षीय पल राउत  रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Categorized in राष्ट्रिय