नेपाल र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा ल्याउने
SamacharDesk | २०७९ माघ २६, बिहिबार

नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेश सरकारले कामकाजी भाषा बनाउने प्रक्रिया सुरु गरेको छ ।
वागमती प्रदेशमा नेवार तथा तामाङहरु आदिवासीको रुपमा रहेको र उनीहरुको बाहुल्यता रहेको कारण सरकारी कामकाजको भाषाको रुपमा नेपाल भाषा र तामाङ भाषालाई प्रयोगमा ल्याउने विषयमा सरकारले तयारी सुरु गरेको समितिका सदस्य एवम् श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले बताए ।
सरकारले ति भाषालाई कसरी प्रदेशको कामकाजको भाषाको रुपमा प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गर्नको लागि श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठ तथा सामजिक विकास मन्त्री कुमारी मोक्तान रहेको भाषा विज्ञ सहितको पाँच सदस्यीय समिति निर्माण गरेको छ ।
नेपालमा पहिचानको विभिन्न आन्दोलनहरु भएको र अब ति आन्दोलनबाट प्राप्त उपलब्धीलाई सस्थागत गर्ने समय आएको कारण प्रदेश सरकारले तामाङ तथा नेवा बाहुल्य प्रदेशमा उनिहरुले बोल्ने भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने तयारी गरेको मन्त्री श्रेष्ठ बताए ।
मन्त्री परिषदको बैठकले समिति निर्माण गरी अध्ययन गर्न आफुहरुलाई जिम्मा दिएको भन्दै मन्त्री श्रेष्ठले आफुहरुले सो विषयमा विज्ञहरुसँगको राय सल्लाहमा प्रतिवेदन तयार पारेर यो विषयलाई चाँडोभन्दा चाँडो टुंगो लगाउने प्रक्रियामा रहेको बताए ।
केन्द्रीय तथ्यांक विभागबाट लिइएको २०६८ सालको जनसंख्याअनुसार वाग्मती प्रदेशमा मात्र १ सय १३ भाषा बोल्ने मानिसहरु छन् । त्यसमध्ये नेपाली भाषाका अतिरिक्त सबैभन्दा बढी बोल्ने भाषा तामाङ र नेपाल भाषा रहेको छ ।
नेपाली भाषा बोल्नेको संख्या ३१ लाख ७५ हजार २ सय ४६रहेको छ भने १० लाख १२ हजार ८ सय ६२ जनाले तामाङ र ६ लाख ८० हजार २७ जना नेपालभाषा बोल्ने रहेका छन् ।
प्रदेशलाई ती दुईवटा भाषालाई सरकारी कामकाजी भाषाको निर्धारण गर्न आयोगले भाषा योजनाको सैद्धान्तिक, लेखनको आधार, व्यावहारिक प्रयोग, शिक्षाको माध्यम, बोल्नेहरुको बाहुल्यता, भाषाको जीवन्ततालगायतको आधारका रुपमा लिएको थियो ।
भाषा आयोगको सिफारिसका आधारमा त्यसको कार्यान्वयनका लागि औपचारिक निर्णय गर्ने सात प्रदेशमध्ये वाग्मती प्रदेश नै पहिलो प्रदेश रहेको छ ।
Categorized in राष्ट्रिय