arin enterprises

नेदरल्याण्ड्माथि नेपालको शानदार जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण ५, शनिबार

आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले नेदरल्याण्ड्माथि शानदार जित हासिल गरेको छ । शनिबार कीर्तिपुरमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो ।

नेदरल्याण्डले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले मात्र १५ दशमलव २ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।

आसिफ शेख र अनिल साहले शानदार अर्धशतक प्रहार गरेपछि नेपालको यो जित सम्भव भएको हो । अनिलले ५७ नटआउट र आसिफले ५४ नटआउट रन बनाए । ओपनर कुशल भुर्तेलले ११ बलमा २८ रन बनाउँदै आउट भए ।

नेदरल्याण्डका विलियन किंग्माले एक विकेट हात पारे । यसअघि, टस हारेर पहिलो ब्याटिंग गरेको नेदरल्याण्ड्सले ३९ ओभरमा १ सय ३७ रन बनाउँदै अलआउट भएको थियो ।

नेदरल्याण्ड्सलाई समेट्ने क्रममा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । ललित राजवंशीले २ विकेट लिए ।

सोमपाल कामीले र कप्तान रोहित पौडेलले एक विकेट झारेका थिए ।

नेदरल्याण्ड्सको लागि कप्तान स्कट एडवर्डसले सर्वाधिक ३३ रन बनाए ।

बास डी लिडे २७ र साइब्रान्ड एनगेलब्रेक्टले २३ रनको योगदान दिए । अन्य ब्याटरको प्रर्दशन उल्लेख्य रहन सकेन ।

नेपालले पहिलो खेल नामिबियासँग गुमाएको थियो ।

नेदरल्याण्ड्सलाई हराउँदै नेपालले लिग टूको तालिकामा २ अंकको खाता खोलेको छ । 

Categorized in स्पाेर्ट्स