arin enterprises

भुर्तेलको शानदार प्रदर्शनसँगै नेपाल फाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण २९, मंगलबार

नेपाल त्रिकोणात्मक हङकङ टी ट्वान्टी सिरिजको फाइनलमा पुगेको छ । मंगलबार भएको खेलमा पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ दशमलव १ ओभरमा १ सय १३ रनमै अलआउट भयो ।

हङकङमा भएको यस खेलमा नेपालको लागि बलिङ र ब्याटिङमा कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले ४ ओभर बलिङ गर्दै १२ रन खर्चिएर ४ विकेट लिएका थिए ।

प्रतिस जिसीले २ तथा गुलसन झा र आकाश चन्दले समान एक एक विकेट लिए । पीएनजीका हिरी हिरीले सर्वाधिक २८ रन बनाए ।

सिसी वाउले २१ र टोने उराले १२ रन बनाए । नोसैना पोकानाले १२ रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो ।

नेपालकोलागि ओपनर कुशल भुर्तेलले ५९ रनको अर्धशतकिय पारि खेले । उनले ३९ बलमा चार छक्का र चार चौका प्रहार गरेका थिए ।

सन्दीप जोराले २६ बलमा ५६ रनको इनिङ्स खेलेका थिए । लोकेश १४ रन र विवेक यादवले  १९ रनको शानदार इनिङ्स खेले । ४ बल खेलेका विवेकले ३ छक्का प्रहार गरेपछि अन्तिम ओभरमा नेपालले २१ रन जोडेको थियो ।

बिनोद भण्डारीले २७ रन बनाउँदा कप्तान रोहित पौडेल, आरिफ शेख ४ सस्तैमा समेतिए ।

पीएनजीका नार्मन बनुआ, नोसेना पोकाना र जान कारिकोले समान एक एक विकेट लिएका थिए ।

नेपाल क्रिकेट टोली टी ट्वान्टी क्रिकेट सिरिज खेल्न अहिले हङकङमा छ । नेपालले २ खेलबाट ३ अंक जोडेको छ ।

यसअघि वर्षाले प्रभावित बनेको पहिलो खेलमा नेपालले हङकङसँग अंक बाँडेको थियो ।

यस्तै सिरिजको अन्तिम खेलमा हङकङ र पीएनजी खेल्नेछन् ।

विजेता टिमले फाइनलमा नेपालसँग खेल्नेछ । 

Categorized in स्पाेर्ट्स
SKIP THIS buddhan jayanti 2082