नेपाल र भारतबीच थप विद्युत आयात–निर्यात गर्ने सहमति
SamacharDesk | २०७९ फाल्गुण ८, सोमबार

भारतको राजस्थानस्थित माउन्ट आबुमा १०औं नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त बैठक सम्पन्न भएको छ ।
बैठकमा नेपाल र भारतबीच ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट हाल भइरहेको विद्युत आयात–निर्यात २०० मेगावाटले बढाउने सहमति भएको छ ।
त्यस्तै हाल भइरहेको आयात–निर्यातको क्षमता बढाउने पनि सहमति भएको छ । ४ सय किलोभोल्टको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट हाल ६०० मेगावाट विद्युत आयात–निर्यात हुँदै आएको छ ।
अब त्यहाँबाट ८०० मेगावाट आयात–निर्यात गर्ने सहमति भएको ऊर्जा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो ।
बैठकले निर्माणाधिन ढल्केबर–सीतामढी प्रसारण लाइनबाट समेत विद्युत आदान–प्रदान गर्न अध्ययनका लागि संयुक्त प्राविधिक टोलीलाई निर्देशन दिएको छ । टनकपुर–महेन्द्रनगर १३२ केभी विद्युत प्रसारण लाइनबाट ७० देखि ८० मेगावाट विद्युत आयात–निर्यात गर्ने सहमति पनि भएको बताइएको छ ।
साथै, संयुक्त प्राविधिक टोलीबाट २०० मेगावाटसम्मको विद्युत निर्यात गर्नका लागि सम्भावित विकल्पहरुको अध्ययन गराउन नेपाल र भारतका अधिकारीहरु सहमत भएका छन् ।
बैठकमा बंगलादेशमा विद्युत् निर्यातको लागि निश्चित आयोजनासहित नेपालले प्रस्ताव पठाए स्वीकृत गर्न सकिने भारतले आश्वासन समेत दिएको छ ।
नेपाली पक्षबाट ऊर्जा सचिव दिनेशकुमार घिमिरे तथा भारत सरकारको विद्युत् मन्त्रालयका सचिव आलोक कुमारको अध्यक्षता बसेको बैठकमा नेपाल–भारतबीच भइरहेको विद्युत् प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, अरुण ३ लगायतको विषयमा छलफल भएको थियो ।
नेपालले महत्वसाथ उठाएको दीर्घकालीन अन्तरसरकारी विद्युत खरिद सम्झौता (पीपीए) का लागि भारतले विस्तृत प्रस्ताव पठाउन भनेको छ ।
Categorized in बिजनेस