arin enterprises

निष्पक्ष भएर कलम चलाउन सञ्चारकर्मीहरुलाई मेयर शाक्यको आग्रह

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ माघ २४, शनिबार

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सञ्चारकर्मीलाई निष्पक्ष भएर कलम चलाउन आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको २२ औं साधारण सभामा बोल्दै महानगर प्रमुख शाक्यले सामाजिक सञ्जाल र मिशन पत्रकारिताका नाममा समाजलाई दिग्गभ्रमित पार्ने काम भएको र त्यसको मारमा स्वयं पनि पर्ने गरेको शाक्यले गुनासो गर्नुभयो ।

‘विशिष्ठ जिम्मेवारीमा रहेका व्यक्तिलाई गाली गर्न सक्यो भने त्यस्ता समाचारले बढी प्राथमिकता पाउने गरेको छ । त्यो प्रवृत्तिलाई अलिक करेक्सन गर्नुपर्छ कि भन्ने मेरो अपेक्षा पनि हो ।’ शाक्यले भन्नुभयो ।

कार्यक्रममा प्रमुख शाक्यले नेकपा भित्रको विवादका कारण आफु र जनताको अवस्था आमाबुबाबाट अलग्गिएको छोराछोरीको जस्तो भएको बताउनुभयो ।

कार्यक्रममा सुचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ, राष्ट्रियसभाका सांसद रामनारायण विडारीलगायतले पत्रकारले समाजलाई सचेत बनाउँदै देश विकासमा योगदान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शाक्यले पत्रकार महासंघ काठमाडौं जिल्लाले जेष्ठ, अशक्त र गम्भीर प्रकारको रोग लागेका पत्रकारहरुको उपचारका लागि स्थापना गरेको कोषको लागि रु १५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।

विभिन्न पत्रकारिता पुरस्कारबाट १४ पत्रकार सम्मानित

कार्यक्रममा वरिष्ठ पत्रकारहरूलाई सम्मान गरिएको थियो ।

अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट राजेन्द्र स्थापित, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारबाट शम्भु श्रेष्ठ, शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कारबाट बलराम थापालाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै देवेन्द्र चुडाललाई जसुधा प्रधान स्मृति पत्रकारिता पुरस्कार, निर्मला शर्मालाई शोभा शाह स्मृति पत्रकारिता पुरस्कार, विश्वराज किरातलाई डम्बर गिरी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

वासुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कारबाट इन्द्र रिजाल, मुरारी गौतम स्मृति पत्रकारिता पुरस्कारबाट निरोधराज पाण्डे, चक्रपाणी नेपाल स्मृति पत्रकारिता पुरस्कारबाट ज्ञान उदासलाई सम्मानित गरिएको थियो ।

त्यसैगरी ईश्वरीप्रसाद वाग्लेलाई रामचन्द्र हुमागाईँ स्मृति पत्रकारिता पुरस्कार, मानध्वज लामालाई गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार, टिवी विरहीलाई एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार हस्तान्तरण गरियो ।

तारा न्यौपाने स्मृति पत्रकारिता पुरस्कार गोपाल बुढाथोकीलाई र फणिन्द्र दाहाल स्मृति पत्रकारिता पुरस्कार दामोदरप्रसाद दवाडीलाई दिइयो ।

Categorized in समाज