arin enterprises

नेपालको नामिबियासँग दोस्रो हार

SamacharDesk | २०८० फाल्गुण ९, बुधबार

नेपाल र नामिबियाबीच बुधबार भएको आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल दुई विकेटले पराजित भएको छ ।

नामिबिया र नेदरल्याण्ड्स सम्मिलित क्रिकोणात्मक सिरिजको तेस्रो खेल अन्तर्गत नेपालले दिएको १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७२ रन जोड्दै लक्ष्य पूरा गरेको हो । 

नामिबियाका लागि कप्तान जोरार्ड इरास्मस ५२ रन बनाए । यस्तै माइकल भान लिङ्गेनले ३१, जेजे स्मिथले अविजित ३४ र रुबेल ट्रम्पलम्यानले १६ रन बनाए । बलिङमा नेपालका कुशल भुर्तेलले तीन विकेट लिए ।

दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र ललित राजवंशीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७।१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाउने बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । शेखले सर्वाधिक ५८ रन बनाए । उहाँले ६४ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएको हो । 

यस्तै कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन बनाउनुभयो । बलिङमा नामिबियाका बेर्नार्ड स्कोल्ट्ज र जान निकाले लोफ्टी इएटनले चार चार विकेट लिनुभयो ।

कप्तान जोरार्ड इरास्मस र ज्याक ब्रसिलले एक एक विकेट लिनुभयो ।

यस सिरिज अन्तर्गत आगामी शुक्रबार नामिबियाले नेदरल्याण्ड्सको सामना गर्नेछ भने आइतवार सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्स र नेपाल भिड्ने छन् ।

त्यसपछि यी ३ टोलीले टि–२० त्रिकोणात्मक सिरिज समेत खेल्ने छन् ।

Categorized in स्पाेर्ट्स