टी–ट्वान्टी सिरिजमा नामिबियासँग नेपाल पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण १५, मंगलबार

टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले नामिबियासँग हार ब्यहोरेको छ । मंगलबार कीर्तिपुरको त्रिवि मैदानमा भएको सिरिजको पहिलो खेलमा नेपालले २० रनले पराजित भएको हो ।
नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छदै १ सय ८६ रनमा अलआउट भयो ।
नेपालको लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाउँदा कप्तान रोहित पौडेलले ४२ रन बनाए । कुशल मल्ले ३२ रनको योगदान गरे । सोमपाल कामी २६ रनमा आउट भएका थिए ।
कुशल भुर्तेल डकआउट भए भने अर्का ओपनर आसिफ शेख ६ रनमा आउट भएका थिए । गुलसन झा १२, सन्दीप जोरा ५, विवेक यादव ६ र अविनाश बोहोरा शुन्य रनमा पोविलियन फर्किए । करन केसी २ रनमा नटआउट रहे ।
नामिबियाका लागि रुबेन ट्रम्पेलमेनले ४ विकेट लिए । उनले नेपालको इनिङ्सको पहिलो बलमै कुशललाई डकआउट गर्दै दीपेन्द्र सिंह ऐरीको महत्वपुर्ण विकेट लिएका थिए । त्यस्तै अन्तिम विकेटको रुपमा आएका अविनाशलाई बोल्ड गर्दै ट्रम्पेलमेनले खेल नामिबियाको पक्षमा पारे ।
बर्नार्ड शोल्ट्ज, जान फ्राइलिन्क र जान निकोनले समान भने दुई दुई विकेट हात पारेका थिए ।
यसअघि, टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा २ सय ६ रनको विशाल योगफल बनाएको थियो ।
विशाल योगफल तैयार पार्न नामिबियाका जान निकोलको शतकीय पारि खेले । उनले ३६ बलमा ११ चौका र आठ छक्का हिर्काएका थिए । मालन क्रुगरले अविजित ५९ रनको योगदान दिए ।
ओपनर माइकल बेन लिन्गन २० रन बनाएर आउट भएका थिए । बलिंग तर्फ कप्तान रोहित पौडेलले दुई तथा करन केसी र अविनाश बोहराले समान एक एक विकेट लिएका थिए ।
आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेल सकिए लगत्तै नेपालले नेदरल्याण्ड्स र नामिबियालाई समावेश गरेर त्रिकोणात्मक सिरिजको आयोजना गरेको छ ।
यस वर्ष हुने टी–ट्वान्टी विश्वकप खेल्न लागेको नेपालले प्रतियोगिताको तयारी स्वरुप टी–ट्वान्टी सिरिजको आयोजना गरेको हो ।
नेपालले सिरिजको दोस्रो खेलमा भोलि बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।
Categorized in स्पाेर्ट्स