arin enterprises

क्यूआर कोडको प्रयोगलाई विस्तार गर्दै नेपाल प्रहरी

SamacharDesk – बिराज | २०८० फाल्गुण १८, शुक्रबार

आम नागरिकले गुनासो, पीरमर्का, उजुरी, सुझाव लगायतका प्रहरी सेवासँग सम्बन्धित विषयमा आफ्नो सूचना दिन सक्ने क्विक रेस्पोन्स अर्थात क्यूआर कोडको व्यवस्थालाई नेपाल प्रहरीले विस्तार गर्दै लगेको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गत असोज ६ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा क्यूआर कोडको प्रयोग सार्वजनिक गरेपछि यसको अन्य कार्यालयहरूमा समेत विस्तार हुँदै आएको हो ।

हालसम्म देशभरका १८९ प्रहरी कार्यालयहरूमा क्यूआर कोडको विस्तार भइसकेको छ ।

तीमध्ये नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखामा एउटा, काठमाडौं उपत्यका अन्तर्गत १२ वटा, कोशी प्रदेश अन्तर्गत २० वटा, मधेश प्रदेश अन्तर्गत एउटा प्रहरी कार्यालयहरुमा क्यूआर कोडको व्यवस्था छ ।

त्यस्तै बागमती प्रदेश अन्तर्गत ६ वटा, गण्डकी प्रदेश अन्तर्गत दुई वटा, लुम्बिनी प्रदेश अन्तर्गत चार वटा, कर्णाली प्रदेश अन्तर्गत १६ र सुदूरपश्चिम प्रदेश अन्तर्गत ११६ वटा कार्यालयहरूमा क्यूआर कोडको व्यवस्था छ ।

तथ्याङ्क अनुसार क्यूआर कोडको व्यवस्था सबैभन्दा बढि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र मातहतमा देखिन्छ ।

क्यूआर कोडको व्यवस्था सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल यो सुविधा पाउँदा सेवाग्राही निकै उत्साहित भएको आफ्नो अनुभव सुनाउँछन् ।

‘नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव संकलन गरी कार्यान्वयन गर्न क्यूआर कोडको प्रयोग निकै प्रभावकारी देखिन्छ । त्यसैले नेपाल प्रहरीले क्यूआर कोडको प्रयोगलाई अन्य प्रहरी कार्यालयहरूमा पनि क्रमशः विस्तार गर्दै जाने नीति लिएको छ” प्रवक्ता ढकालको भनाई हो ।

नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखामा गत असोज २५ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालय समेत मातहत कात्तिक १८ गतेदेखि, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर समेत मातहत २० वटा कार्यालयमा गत असोज ९ गतेदेखि क्यूआर कोड कार्यान्वयनमा आएको छ ।

त्यस्तै मधेश प्रदेश प्रहरी कार्यालयमा गत असोज ३० गते, बागमती प्रदेश प्रहरी कार्यालय समेत मातहतमा गत मंसिर २६ गतेदेखि, गण्डकी प्रदेश प्रहरी कार्यालय समेत मातहतमा गत कात्तिक १५ गतेदखि क्यूआर कार्यान्वयनमा ल्याइएको थियो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय समेत मातहतमा गत मंसिर ५ गतेदेखि, कर्णाली प्रदेश प्रहरी कार्यालय समेत मातहतमा गत कात्तिक २४ गतेदेखि र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय समेत मातहतमा गत असोज १७ गतेदेखि क्यूआर कोड कार्यान्वयनमा आएको छ ।

नागरिकको गुनासो क्यूआर कोड मार्फत सिधै सम्बन्धित प्रहरी कार्यालय प्रमुख समक्ष पुग्ने गर्छ । जसको कारण प्राप्त विषयवस्तुको कार्यान्वयन गर्न ढिलाई नहुने नेपाल प्रहरीको दावी छ ।

नेपाल प्रहरीका अनुसार क्यूआर कोडको व्यवस्था पछि हालसम्म जम्मा १३६ वटा उजुरी प्राप्त भएको छ । तीमध्ये १ सय १४ वटा फर्छ्यौट भइसकेका छन् भने २२ वटा कार्यान्वयनको चरणमा रहेका छन् ।

तीमध्ये नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखाबाट ५९ वटा, काठमाडौं उपत्यका अन्तर्गत १४ वटा, कोशी प्रदेश अन्तर्गत ४ वटा, बागमती प्रदेश अन्तर्गत ८ वटा उजुरी फर्छ्यौट भएका छन् ।

त्यसैगरी गण्डकी प्रदेश अन्तर्गत १४ वटा, लुम्बिनी प्रदेश अन्तर्गत ९ वटा, कर्णाली प्रदेश अन्तर्गत ४ वटा र सुदूरपश्चिम प्रदेश अन्तर्गत २ वटा उजुरी फछर्यौट भएका छन् ।

क्यूआर कोड व्यवस्था भएका प्रहरी कार्यालयहरूमा सर्वसाधरणको सहजै पहुँच हुने उपयुक्त स्थानमा क्यूआर कोड स्क्यान राखिएको प्रहरी बताउँछ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले ‘गुनासो व्यवस्थापनमा कोशी प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग सम्बन्धी कार्यविधि, २०८०’ लागू गरेको छ । यसमा क्यूआर कोडको उद्देश्य र मापदण्ड तय गरी कार्यान्वयनमा गर्दै आएको छ ।

यस सम्बन्धमा उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना प्रविधि मार्फत सूचनाको स्रोत बढाउनु पर्छ भन्ने उद्देश्यले क्यूआर कोड संचलान गरिएको भन्छन् ।

‘यसको विस्तार र लोकप्रियतालाई प्राथमिकतामा राखेर कार्ययोजना बनाई कोशी प्रदेश प्रहरी कार्यालय अगाडि बढेको छ । क्यूआर कोड मार्फत प्राप्त उजुरीमा पूर्ण गोपनियता रहन्छ’ प्रहरी उपरीक्षक तिम्सिनाको भनाई हो ।

Categorized in राष्ट्रिय