नेपाल प्रहरी अस्पतालको ४०औं वार्षिकोत्सव सम्पन्न
SamacharDesk – बिराज | २०८० चैत्र २७, मंगलबार

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४०औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी नेपाल प्रहरी अस्पतालको ४०औं वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आन्तरिक प्रतिस्पर्धा र अन्य सांगठिनक मूल्य मान्यतामा क्षय हुने क्रियाकलापमा नरूमल्लिईकन समग्र संगठनको शिरलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्न अस्पतालका सम्पूर्ण चिकित्सकवर्ग र प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
अस्पतालले विद्यमान सेवाहरुलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुका साथै अस्पतालको दीर्घकालिन विकासका लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने विचार राखे ।
सो अवसरमा कुँवरले पूर्व साथै बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषबाट अस्पताललाई प्रदान हुने २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गरे ।
समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई विस्तार गरि आम सर्वसाधारण नागरिकहरूलाई समेत सर्वसुलभ रूपमा गुणस्तरीय सेवा दिइरहेको उल्लेख गरिन् ।
अस्पतालबाट प्रदान गरिने सेवालाई अझ गुणस्तरीय बनाउन अस्पताल प्रशासन सदैव प्रयासरत रहेको सिंहको भनाई हो ।
नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.सुन्दर प्रसाद हैंजु, प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालको सेवा, सुविधा लगायत विभिन्न पक्षको बारेमा जानकारी दिएका थिए ।
समारोहमा प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेजमा अध्ययनरत विद्यार्थीहरूले स्वागत गान प्रस्तुत गरेका थिए ।
प्रहरी महानिरिक्षक कुँवरले अस्पतालमा नवनिर्मित इमर्जेन्सी भवन र मोडुलड अप्रेसन थिएटरको पनि उद्घाटन गरेका थिए ।
साथै कुँवरले अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०८०’ र नेपाल मेडिकल जर्नलको लोकार्पण समेत गरेका थिए ।
अस्पतालमा स्थापनाकालदेखि सेवा दिने, दैनिक सेवा प्रवाहमा उल्लेखनीय योगदान दिने कर्मचारीहरुलाई कदर पत्र प्रदान गरिएको थियो । साथमा अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले ह्वील चियर १० थान अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गर्नुभयो ।
साथमा अध्यक्ष कुँवरले ‘हेल्दी वेवी सो कन्टेस्ट’ कार्यक्रममा छनौट भएका तीन जना शिशुहरूलाई पनि पुरस्कार प्रदान गरिन् ।
समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, भिजिटिङ कन्सल्टेन्टहरु लगायतको उपस्थिति रहेको थियो ।
Categorized in समाज