arin enterprises

नेपालको शानदार जित

SamacharDesk | २०७९ फाल्गुण २, मंगलबार

नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिवियाबिरुद्ध २ विकेटको रोमाञ्चक जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा ओपनर कुशल भुर्तेलको शतकको मद्दतमा व्यक्तिगत १ सय १५ रन रनको पारी खेलेपछि नेपालले २ सय ८६ रनको लक्ष्य १४ बल अगाडि नै पूरा गरेको हो ।

यससँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो योगफललाई पूरा गरेको हो भने भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा करियरमा पहिलो शतक पनि पूरा गरेका छन् ।

शतक बनाउने क्रममा १ सय १३ बलको सामना गरेका भुर्तेलले १० चौका र ४ छक्का प्रहार गरेका हुन । ५३ रन जोड्ने क्रममा २  विकेट गुमाएको अवस्थामा क्रिजमा आएका रोहित पौडेलले भुर्तेलसँग जोडेको १ सय २४ रनको साझेदारी नेपालको विजयको आधार भएको थियो ।

दोस्रो ओभरमै आसिफ शेख शुन्यमा बोल्ड भएपछि केही दबाबमा परेको नेपाली टोलीका लागि ज्ञानेन्द्र मल्लले ३५ बलमा ४ चौकासहित २५ रन बनाएका थिए । त्यसपछि सम्हालिएको प्रदर्शन गर्ने क्रममा कप्तान रोहितले ७६ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ७२ रन बनाएका थिए ।

यस्तै कुशल मल्ल ६ रनमा पवेलियन फर्किंदा दीपेन्द्रसिंह ऐरी ७ रनमै एल्बीडब्ल्युको धरापमा परेका थिए । भुर्तेलले सन्दीप जोरासँग ४९ रनको साझेदारी गरेको खेलमा जोराले २४ बल खेल्दै ३ चौका र १ छक्कासहित व्यक्तिगत २८ रन बनाउन सके ।

करण १२ बलमा २० रन बनाई अविजित रहँदा सन्दीप लामिछाने पहिलो बलमै क्याच आउट भएका थिए । सोमपाल कामीले पहिलो बलमै विजयी चौका प्रहार गरेपछि नेपालको जित निश्चित भएको थियो ।

यसअघि माइकल भान लिङगेनको सानदार शतकमा नामिबियाले पूरै ५० ओभरमा सबै विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो । लिङगेनले १ सय ३७ बलको सामना गर्ने क्रममा ९ चौका र ५ छक्काको सहयोगमा १ सय ३३ रन बनाएका थिए ।

लिङगेनले लगातार नेपाल बिरुद्ध दोस्रो शतक बनाएका हुन् । यसअघि उनले डिसेम्बरमा नेपालबिरुद्ध नामिबियाको विन्डहोकमा १ सय २१ रन बनाएका थिए । कप्तान ग्रेहार्ड इरास्मसले ७९ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेल्दा जान ग्रिनले ३४ रन बनाए भने अन्यले उत्कृष्ट खेल देखाउन सकेनन् ।

सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ भने फागुन ६ गते नामिबियासँगको दोस्रो खेल खेल्नेछ । बुधवार नामिबिया र स्कटल्याण्डबीच खेल हुनेछ ।

Categorized in स्पाेर्ट्स