arin enterprises

नेपाललाई लगातार दोस्रो जित

SamacharDesk | २०७९ आषाढ ५, आइतबार

मलेशियामा जारी एसिसि महिला टी–२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले जित हासिल गरेको हो । नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७  विकेट गुमाएर ८२  रन मात्र बनाउन सक्यो ।

यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक अविजित ३४ रनको योगदान गरिन् । 

२७ बलको सामना गरेकी रुबिनाले चार चौका प्रहार गरिन् । त्यस्तै इन्दु बर्माले २८ रन जोड्ने क्रममा ३३ बलको सामना गर्दा २ चौका चट्काइन । यस्तै ज्योती पाण्डेले १५ रन जोड्दा विन्दु रावलले ११ रनको स्कोर गर्ने क्रममा क्याच आउट भइन् ।

यस्तै सिता राना मगर र काजल श्रेष्ठले समान ५÷५ रनको पारी खेल्दै पवेलियन फर्किए । बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन् । मारियम ओमार र खादिला खाजिलले एकएक विकेट लिइन् ।

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक ३१ रनको पारी खेल्दा मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन जोडिन् । कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सीता राना मगरले दुई विकेट निकाल्दा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले समान एक÷एक विकेट लिए ।

जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । समूह बी मा रहेको नेपाल तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ  । पराजित कुवेतको तालिकामा १ अंक छ ।

यस अघि च्याम्पियनसिपको  पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गर्दै विजयी सुरुआत गरको थियो ।

Categorized in स्पाेर्ट्स