arin enterprises

केन्याविरुद्धको टी–२० सिरिज नेपालले जित्यो

SamacharDesk | २०७९ भाद्र १४, मंगलबार

नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० सिरिज ३–२ ले कब्जा गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको निर्णायक तथा अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले हरायो ।

जितका लागि १७६ रनको लक्ष्य पछ्याएको केन्या निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४४ रनमा समेटिएको थियो ।

केन्याका लागि नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ रन बनाए । इरफान करिमले २८ रन जोड्दा कोलिन्स ओबुयाले २३ रन बनाए ।

कप्तान शेम एन्गोचेले अविजित ३३ रन जोड्दा नेल्सन ओधियाम्बो १३ रनमा अविजित रहे । नेपालका सन्दीप लामिछाने र वसिर अहमदले २÷२ विकेट लिए ।

करण केसी, आदील आलम र दीपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । ज्ञानेन्द्रको यो टी–ट्वान्टी अन्तराष्ट्रियमा दोस्रो अर्धशतक हो ।

यस्तै रोहित पौडेलले ४७ रन बनाए । अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए ।

अब नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल शुक्रबार, दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार हुनेछ ।

Categorized in स्पाेर्ट्स