arin enterprises

भारतविरुद्ध नेपालको सानदार जित

SamacharDesk | २०७९ माघ २४, मंगलबार

बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पराजित गरेको हो ।

मंगलबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । नेपालका लागि अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरे। भारतका लागि अपूर्णा नार्जारीले सान्त्वना गोल गरिन् । खेलको २१औं मिनेटमा अपुर्व नाजारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।

तर, ४७ औं मिनेटमा अन्जली चन्दले बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काइन् । कप्तान प्रिती राईले ६८ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन् ।

अग्रता बनाएपछि भारतमाथि हावी भएको नेपालका लागि अमिसा कार्कीले ८९औं मिनेटमा गोल गर्दै ३–१ को जित दिलाइन् । पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो ।

नेपालले तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोड्यो । नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो । सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटान सहभागी छन्।

Categorized in स्पाेर्ट्स