भारतमा नेपाली कलाकार स्वजनको वाहवाही
SamacharDesk – बिराज | २०७९ पौष २६, मंगलबार

भारतको छत्तीसगढमा नेपाली कलाकार स्वजन रघुवंशीको प्रस्तुतिले वाहवाही कमाएको छ । छत्तीसगढको राजनन्दमा भएको कार्यक्रममा कलाकार रघुवंशीको प्रस्तुतिले वाहवाही पाएको हो ।
राजनन्द जिल्लाको स्थानीय सरकारबाट आयोजना गरिएको कार्यक्रममा रघुवंशीले नेपाली चर्या नृत्यमा आधारित पञ्चकपाल नृत्य प्रस्तुत गरेका थिए ।
राजनन्द जिल्लाको स्थानीय सरकारले दि मोर्डन मडई दिवस कार्यक्रमको आयोजना गरेको थियो । सोही मडई दिवस कार्यक्रमको प्रमुख आकर्षणको रुपमा रघुवंशीको पञ्चकपाल नृत्य राखिएको थियो ।
दर्शकहरु पनि रघुवंशीको प्रस्तुतिमा निकै रमाएका थिए ।
‘भारतीय भूमिमा नेपालको मौलिक पहिचान झल्काउन पाएँ, दर्शकहरुले पनि नेपाली कलालाई निकै मनपराए । यसमै खुसी छु । यसरी नै विश्वमा नेपालको पहिचान दिइरहन पाउँ’ समाचारडेस्कसँग कुरा गर्दै स्वजनले भने ।
कार्यक्रमको प्रचारात्मक सामग्रीहरुमा पनि अन्तर्राष्ट्रिय कलाकार भनी रघुवंशीको पञ्चकपाल भेषलाई नै राखी प्रचार गरिएको थियो । भारतीय संचार माध्यमले पनि स्वजनको प्रस्तुतिलाई विशेष स्थान दिएर समाचार सम्प्रेषण गरेका थिए ।
यस अघि रघुवंशीले भारतमा दुइ स्थानमा पञ्चकपाल नृत्य प्रस्तुत गरिसकेका छन् । यो नृत्य उनले पहिलो पटक बनारस विश्वविद्यालयमा प्रस्तुत गरेका थिए भने दोश्रो पटक इन्दिरा कला संगीत विश्वविद्यालयमा प्रस्तुति दिएका थिए ।
इन्दिरा कला संगीत विश्वविद्यालयमा आफ्नो पञ्चकपाल नृत्य प्रस्तुति हेरेर प्रभावित भएर मडई महोत्सवमा पनि आफुलाई प्रस्तुतिको लागि बोलाइएको रघुवंशीले जानकारी दिए ।
रघुवंशी हाल इन्दिरा कला संगीत विश्वविद्यालयबाट नृत्य विषयमा विद्यावारिधि गरिरहेका छन् । नृत्य विषयमा विद्यावारिधी गरिरहेका रघुवंशी पहिलो नेपाली हुन् ।
साथमा रघुवंशी नेपालमा पहिलो पटक नृत्यमा एकल कार्यक्रम गर्ने कलाकारसमेत हुन् ।
Categorized in पेजथ्री