arin enterprises

नयाँ सत्ता समीकरणका लागि एमाले र कांग्रेसबीच सहमति

SamacharDesk | २०८१ आषाढ १९, मंगलबार

संसदको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यराती नयाँ सत्ता समीकरणका लागि सहमति भएको छ ।

हिजो सोमबार दिनभरको दौडधूपछि अन्ततः मध्यरातमा दुई ठुला दलबीच सहमति भएको हो । दुई दलबीच संविधान संशोधनलगायत  कार्यसूची (एजेण्डा) सहित सहमतिको नयाँ सरकार बनाउने सहमति भएको छ ।

सहमति पत्रमा काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच हिजै राती हस्ताक्षर भएको बुझिएको छ ।

पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुने सहमति भएको छ ।

प्रमुख ती दुई दलका बीचमा निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको बताइएको छ ।

दुवै पार्टीले आन्तरिक रूपमा थप छलफल गरेपछि नयाँ बन्ने सरकारमा मन्त्रालयगत जिम्मेवारीसम्बन्धी निष्कर्षमा पुग्ने जनाएका छन् । नयाँ सत्ता समीकरणका लागि सभापति देउवा र अध्यक्ष ओलीबीच केही दिन नियमित रूपमा छलफल हुँदै आएको थियो ।

सोमबारको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले अध्यक्ष ओलीसँग यही असार १५ गते भएको भेट सकारात्मक भएको जानकारी गराउनुभएको थियो ।

यसैबीच नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताएका छन् । उनका अनुसार सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।

महासचिव पोखरेलले यस प्रक्रियामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने पनि उनले उल्लेख गरेका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको मंगलबार बसेको सचिवालय बैठकले कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका चार मन्त्रीहरु छन् । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् ।

यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082