arin enterprises

न्यूरोडको फुटपाथ बढाउन महानगरलाई बाटो खुल्यो

SamacharDesk | २०८१ आषाढ ३२, सोमबार

पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाले न्युरोडमा शुरु गरेको फुटपाथ विस्तारमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय ध्रुबराज चन्द र प्रकाश खरेलको ईजलाशले सडक डिभिजन कार्यालय काठमाडौंका नाममा फुटपाथ विस्तार गर्ने योजना कार्यान्वनय नरोक्न आदेश दिएको हो ।

महानगरपालिकाले फुटपाथ विस्तारका लागि शुक्रपथमा सडक काट्न थालेपछि सडक विभाग अन्तर्गतको डिभिजन कार्यालयले हस्तक्षेप गरी काटेको सडक तत्काल पिच गरेको थियो ।

महानगरले गत जेठमा न्यूरोडको शुक्रपथस्थित सडक बाटोमा हिँड्ने बटुवाहरुको लागि फुटपाथ कम भएको भन्दै फुटपाथ खन्न थालेपछि धेरै विरोध भएको थियो ।

सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रूपमा हस्तक्षेप गरेको थियो ।

जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

रिट निवेदनमा महानगरपालिकाले, आफ्नो क्षेत्रभित्रको वडा नं. २२, २३ र २४ अन्तर्गत पर्ने न्युरोड बजार क्षेत्रमा आ. व. २०८०/०८१ को आर्थिक वजेटबाट फुटपाथ (सडक पेटी) विस्तार गर्ने योजना अनुरुपको कार्य सञ्चालन गर्ने सन्दर्भमा विपक्षी सडक डिभिजन कार्यालयले मिति २०८१ जेठ १२ बाट अवरोध सृजना गरी सडक पेटी निर्माण गर्न नदिने ब्यहोराको पत्राचार एवं भौतिक रूपमा हस्तक्षेप गरेको उल्लेख गर्दै उपचारको र तत्काल अन्तरिम आदेश माग गरेको थियो ।

आइतबार उच्च अदालतले महानगरकोे पक्षमा अन्तरिम आदेश आएपछि फुटपाथ बढाउन महानगरलाई बाटो खुलेको छ ।

Categorized in स्थानीय