चित्रकलाका माध्यमबाट न्हूदँलाई स्वागत
SamacharDesk – बिराज | २०८० कार्तिक २८, मंगलबार

न्हूदँ (नयाँ वर्ष) नेपाल संवत ११४४ लाई कलाकारहरुले चित्रकलाको माध्यमबाट स्वागत गरेका छन् । आज न्हूदँको दिन वसन्तपुर दरवार क्षेत्रमा ‘मास्टर स्ट्रोक्स’ शिर्षकमा चित्रकला प्रदर्शनी गरियो ।
बाग्मती प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्यको अगुवाईमा काठमाडौं दरबार स्क्वाएर पर्यटन प्रवर्दन संघ, सम्वर्धन संस्था तथा आर्ट बुमले संयुक्त रुपमा आयोजना गरेको थियो ।
बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले प्रदर्शनीको उद्घाटन गरे ।
मुख्यमन्त्री जम्मरकट्टेललाई काठमाडौं दरबार स्क्वाएर पर्यटन प्रवर्ध्दन संघका सदस्य दिल्लीरत्न तुलाधार, सम्वर्ध्दन संस्थाका उपाध्यक्ष सुरेशप्रसाद श्रेष्ठ र मास्टर स्ट्रोक्सकातर्फबाट रत्न शाक्यले स्वागत गरेका थिए ।
प्रदर्शनीको उद्घाटन पछि बोल्दै मुख्यमन्त्री जम्मरकट्टेलले कलाका माध्यमबाट संस्कृति चिनाउने नौलो कार्यलाई प्रदेश सरकारले सधैं प्रोत्साहन गर्ने र यसका लागि उचित सहयोग गर्ने समेत बताए ।
त्यस्तै बाग्मती प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्यले प्रदेश सरकारले पर्यटन प्रबर्ध्दन र संस्कृति जर्गेनामा तत्परताकासाथ सहयोग गर्नुका साथै युवा जोश, नवीन उत्प्रेरक कार्यहरुकालागी साथ दिने समेत बताए ।
कार्यक्रममा नेपालका चर्चित १८ जना कलाकारहरुले कार्यक्रम स्थलमै चित्रकला कोरेका थिए ।
कार्यक्रमलाई बाग्मती प्रदेश सरकार, प्रहरी वृत्त जनसेवा न्युरोड, सार्दुल जङ्ग गुल्म, नेपाल संवत न्हुदँ समारोह समिति ११४४, हनुमानढोका दरबार हेरचाह अड्डा, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, यल आर्ट ग्यालरी र ललितकला गुठीको समेत सहयोग रहेको थियो ।
