फराकिलो जितसँगै न्युजिल्याण्ड शीर्ष स्थानमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १, बुधबार

आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले अफ्गानिस्तान माथि फराकिलो जित निकालेको छ ।
बुधबार भएको खेलमा न्युजिल्याण्डले अफ्गानिस्तानलाई १ सय ४९ रनले हराएको हो ।
चेन्नाइमा भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याएको अफ्गानिस्तान १ सय ३९ रनमा अलआउट भयो ।
अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ३६ रन बनाए । अजमतुल्लाह उमरजईले २७, इकरम अलिखिलले १९, इब्राहिम जर्दानले १४ र रहमानुल्लाह गुरबाजले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
न्युजिल्याण्डका मिचेल सेन्टनर र लाकी फग्र्युसनले समान ३–३ विकेट लिए । ट्रेन्ट बोल्टले २ तथा माट हेनरी र रचिन रबिन्द्रले १ विकेट हात पारे ।
यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेटको क्षतीमा २ सय ८८ रन बनाएको थियो ।
उसको लागि टम लाथमले सर्वाधिक ६८ रन बनाए । विल योंगले ५४ रन र रचिन रबिन्द्रले ३२ को योगदान दिएका थिए ।
अफ्गानिस्तानका नाभिन अल हक र अजमतुल्लाह ओमरजाईले समान २ तथा रासिद खान र मुजिब उर रहमानले समान एक-एक विकेट हात पारे ।
यो जितसँगै न्युजिल्याण्डले आफ्नो अपराजित कायम राख्दै शीर्ष स्थानमा उक्लिएको छ । उसले ४ खेलबाट ८ अंक जोडेको छ ।
यस्तै अफ्गानिस्तान मात्र २ अंक सहित पुछारदेखि दोस्रोमा छ ।
Categorized in स्पाेर्ट्स