arin enterprises

न्यू जेनिथ स्कूलमा भव्य मेला हुँदै

SamacharDesk – बिराज | २०८१ मङ्सिर २५, मंगलबार

काठमाडौंको ताम्सीपाखास्थित न्यू जेनिथ इङ्गलिस मोडल स्कूलले भव्य मेलाको रुपमा ‘न्यू जेनिथ डे’ आयोजना गर्ने भएको छ ।

न्यू जेनिथले आफ्नो २६औं स्थापनाको दिवसको अवसरमा परम्परागत खाद्य परिकार, सांगितिक कार्यक्रमको साथै विभिन्न प्रदर्शनीहरुसहित मेलाको आयोजना गर्न लागेको हो ।

स्कूलले आउँदो मंसीर २९ गते शनिबार स्कूल परिसरमै कार्यक्रमको आयोजना गर्न लागेको हो ।

ताम्सीपाखा विष्णुमति लिंकरोडस्थित स्कूलमा हाल पाँचवटा ब्लकहरु संचालनमा छन् भने स्कूलको पाँचवटै ब्लकहरुमा विभिन्न गतिविधि र प्रदर्शनीहरु हुने स्कूलका प्रिन्सिपल राजु महर्जनले जानकारी दिए ।

न्यू जेनिथ डेमा ‘ब्लक ‘ए’ र ‘बि’ मा फुड स्टल, विभिन्न सामग्रीको स्टल, सांगितिक कार्यक्रमहरु हुनेछ भने ब्लक ‘सी’मा आर्ट प्रदर्शनी, ‘डी’ ब्लकमा ह्यान्ड राइटिङ प्रदर्शनी र ब्लक ‘ई’ मा रोबोटिक्स प्रदर्शनी रहनेछ ।

‘आर्ट प्रदर्शनीमा पनि यहिँकै विद्यार्थीहरुले बनाएको बोटल आर्ट लगायक विभिन्न आर्टहरु हुनेछ । यत्ति राम्रो कलाकारिता रहेछ बच्चाहरुमा, केही आर्टहरु त मैले आफैले नै किन्नेछु, अभिभावकहरुले पनि बच्चाहरुलाई हौसला दिनुहुन अनुरोध छ’ प्रिन्सिपल महर्जनले भने ।

स्थानीय नेवारी खाना लगायत विभिन्न परिकारका फुड स्टल सोही स्कूलका होटल म्यानेजमेन्टका ११, १२ कक्षाका विद्यार्थीहरुको संयोजकत्वमा रहनेछ ।

सांगितिक कार्यक्रम अन्तर्गत विहानको ११ बजेदेखि दिउँसोको १ बजेसम्म स्कूलकै विद्यार्थी साथमा शिक्षक शिक्षिकाहरुको प्रस्तुति र १ बजेदेखि ४ बजेसम्म स्कूलकै विद्यार्थीहरुको ब्यान्डको साथमा सुरज एन्ड एलुरीज ब्यान्ड र समीर श्रेष्ठको सांगितिक प्रस्तुति रहनेछ ।

स्कूलमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको साथमा सर्वसाधारणलाई स्कूलको भौतिक संरचना र सुविधाको जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको पनि प्रिन्सिपल महर्जनले भने ।

‘यहाँ हामीले धेरै कम शुल्कमै सक्दो धेरै सुविधा र गुणस्तरीय शिक्षा दिइरहेका छौं । यति शुल्कमा यति सुविधा अन्त कतै पाउनै सकिन्न भन्ने मेरो दावी नै छ । स्कूल र स्कूलको स्तरीयताबारे सबैले जानकारी लिन सकोस् भन्ने पनि कार्यक्रमकाे उद्देश्य हो’ महर्जनको भनाई हो ।

मेलालाई ३ हजारदेखि ५ हजारसम्मले अवलोकन गर्ने अपेक्षा स्कूलको रहेको छ । मेलामा सहभागीताको लागि १० रुपैयाँको टिकटको व्यवस्था गरेको स्कूलले जनाएको छ ।

न्यू जेनिथ इङ्गलिस मोडल स्कूलको स्थापना वि.सं. २०५७ सालमा भएको हो ।

स्कूलले हालै साढे २ करोडको लगानीमा ब्लक ‘ई’ तयार गरेको छ भने उक्त ब्लकमा बास्केटबल कोर्टको साथमा फुटसल कोर्ट पनि बनाइएको छ ।

इनडोर गेमको लागि ब्लक ‘सी’ मा आवश्यक पूर्वाधार तयार भइसकेको छ भने यहाँ चेस, ब्याडमिन्टन, टेनिस लगायतका इनडोर गेमहरु चाँडै नै संचालनमा ल्याउने तयारी स्कूलको रहेको छ । 

Categorized in समाज