नेपाली राजनीतिमा शुद्धिकरण आवश्यकः डा. श्रेष्ठ
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० जेठ ३, बुधबार

नागरिक अगुवा डा. महेश मान श्रेष्ठले नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक रहेकोमा जोड दिएका छन् ।
नेवाः ग्वहालि पुचः काठमाडौं महानगर १७ वडा कमिटीले आयोजना गरेको २० दिने क्षमता अभिवृद्धि प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय चर्चामा रहेको भुटानी शरणार्थी प्रकरणले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै बेइज्जत गराएको समेत बताए ।
‘बिबिसी, सीएनएन लगायतका अन्तर्राष्ट्रिय संचार माध्यममा पछिल्लो समय नेपालमा व्याप्त भ्रष्टाचार सम्बन्धि समाचार प्रशारण भइरहेका छन् । यसले गर्दा नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा बिग्रेको छ’ डा. श्रेष्ठको भनाइ हो ।
नागरिक अगुवा श्रेष्ठले देशभित्रको बहुल पहिचानलाई समेत स्वीकार गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले पछिल्लो समय नगरभित्र रैथानेहरुको भाषा, संस्कृति, संस्कारमा विलचन आएकोप्रति चिन्ता व्यक्त गर्दै सबै तह र तप्का मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए ।
बैसाख ६ गतेबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा प्रशिक्षार्थीहरुलाई सिलसिला मिलाएर बोल्ने, उद्घोषण, नेतृत्व विकास, संस्थागत संरचना तथा लक्ष्य निर्धारण सम्बन्धिको तालिम दिइएको थियो ।
२० दिने प्रशिक्षण कार्यक्रममा संचारकर्मी केके मानन्धरले सहजीकरण गरेका थिए ।
Categorized in समाज