नेवाः संगीत दबूको २५ एपिसोड पूरा
SamacharDesk – बिराज | २०७७ पौष २८, मंगलबार

नेवाः टिभि एचडिमा प्रसारण भइरहेको ‘नेवाः संगीत दबू’ कार्यक्रमको २५ एपिसोड पूरा भएको छ । यसै सन्दर्भमा आज काठमाडौंमा एक कार्यक्रम गरिएको छ ।
कार्यक्रममा वरिष्ठ कलाकार हास्य सम्राट मदनकृष्ण श्रेष्ठले कुनै पनि काम शुरु गर्न सजिलो भएपनि निरन्तरतामा चुनौती रहने भन्दै कार्यक्रमले २५ एपिसोड पूरा गर्न सफल भएकोमा बधाई दिनुभयो ।
त्यस्तै संगीतकारत्रय जुगल डंगोल, राजु सिंह र मनराजा नकर्मीले ‘नेवाः संगीत दबू’ टेलिभिजन कार्यक्रममात्र नभई संगीतकर्मी र संगीत क्षेत्रको जानकारीको संग्रहालय बनिरहेको विचार राख्नुभयो ।
लोककवि राजभाई जकःमिले दर्शकले एउटा कार्यक्रम उत्पादनदेखि प्रसारणसम्ममा क्यामेरा पछाडीको परिश्रमलाई पनि बुझिदिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम निर्माता साथै संचालिका गंगादेवी महर्जनले लकडाउनबाट कार्यक्रम उत्पादनका लागि प्राविधिक साथै विभिन्न पक्षबाट समेत केही कठिनाई भइरहेको अनुभव सुनाउनुभयो ।
नेवाः टिभिका अध्यक्ष नवीन जोशीले सिमित बजारमा संचालित टिभि च्यानलहरुलाई अहिले महामारीको अवस्थामा बजार झन खुम्चिदा चुनौती अझ थपिएको बताउनुभयो ।
कार्यक्रममा ‘नेवाः संगीत दबू’ कार्यक्रमलाई प्राविधिक, प्रायोकन र विभिन्न पक्षबाट निरन्तर सहयोग पुयाउने सहयोगीहरुलाई कृतज्ञता पत्रसहित धन्यवाद ज्ञापन गरिएको थियो ।
Categorized in पेजथ्री