नेवाः जातीय महासंघ गठन
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ आश्विन २३, शनिबार

नेवाः जातिय महासंघको तदर्थ कार्य समिति गठन गरिएको छ । नेवाः समुदायका विभिन्न १८ वटा जातीय संगठनको भेलाबाट आज महासंघको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
भेलाले खड्गी सेवा समितिका संरक्षक मनोज नेवाःलाई समितिको अध्यक्ष चयन गरेको छ । त्यस्तै स्यस्यः समाजका दानदास श्रेष्ठलाई उपाध्यक्ष चयन गरेको छ ।
त्यस्तै राजोपाध्याय समाजका बिराजकाजी राजोपाध्याय महासचिव पदमा चुनिएका छन् भने रजक समाजका किरण मघैयालाई सचिव पदमा बसेका छन् । कोषाध्यक्षको जिम्मेवारी पुतुवार नगरकोटी राजवाहक विकास समाजका सागर पुतुवारले पाएका छन् ।
चार जना सदस्यमा नेपाल तण्डुकार समाजका सुरेश तण्डुकार, बलामी समाजका बेखराम वलामी, कपाली समाजका श्यामकृष्ण दर्शनधारी र नेपाल माली समाजका अमर मालीलाई राखिएको छ ।
भेलामा बोल्दै महासंघ तदर्थ समितिका अध्यक्ष मनोज नेवाःले महासंघमा आवश्यकता अनुसार अन्य जातीय समाज पनि थप्ने र आवश्यक प्रकृयामा अघि बढ्ने बताउनुभयो ।
हरेक गतिविधिहरुमा नेवाः समुदायको शक्तिको रुपमा अग्रपंक्तिमा देखिने जातीय संगठनहरुलाई मात्र कार्यकर्ताको रुपमा प्रयोग गर्ने गरेको अवस्थामा जातीय समाजहरुको संगठित शक्ति निर्माण गर्न महासंघ गठन गर्न लागिएको नेवाःको भनाई हो ।
‘समुदायको शक्ति भनेकै जातीय संगठन हो, यो शक्तिमा अझ उर्जा थप्दै नेवाः समुदायको भाषा, कला, साहित्य, संस्कृतिको साथमा परम्परागत पेशाको संरक्षण, सम्वद्र्धनको लागि हामी क्रियाशील हुनेछौं’ नेवाःले भन्नुभयो ।
महासंघले आउँदो कार्तिक ६ गते तिहार र नेपाल सम्वतको नयाँ वर्ष ११४२ को शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
Categorized in समाज