मुगलछेँको न्यूरोड गेटैमा सार्वजनिक
SamacharDesk – बिराज | २०७८ बैशाख २७, सोमबार

कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकालगायत नेपालका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी रहेको समयमा दिनहुँ जसो नयाँ म्यूजिक भिडियोहरु रिलिज भइरहेका छन् ।
यसै क्रममा गायक नवीन महर्जन ‘मुगलछेँ’ को गीत ‘न्यूरोड गेटैमा’ को म्यूजिक भिडियो आज सार्वजनिक गरिएको छ ।
आज विहानको करीब ११ः३० बजे हाइलाइट्स नेपालको यूट्युब च्यानलमार्फत गीतको प्रिमियर गरिएको हो । प्रिमियर भएको १०२ मिनेटसम्ममा गीतले एक हजार ३४४ भ्यूज पाइसकेको छ ।
म्यूजिक भिडियोका निर्देशक लुःजः सिंहले गीतमा कुनै कथावस्तु नबनाई जुनै उमेर समूहका दर्शकले पनि गीतको मनोरन्जन लिन सकिने विचार राखेर गीतको भिडियो तयार पारेको बताए ।
‘गीतकै शब्दलाई पछ्याउँदै भद्रकाली, न्यूरोड वरपरकै राम्रा दृश्यलाई क्यामेरामा कैद गर्न खोजेको छु, गीत हेर्दा दर्शकले मज्जा लिन सकोस्, यति नै सोचेर भिडियो बनाएको छु’ भिडियोको छायाङ्कारसमेत रहेका निर्देशक सिंहले भने ।
म्यूजिक भिडियाेमा अहिलेकी व्यस्त माेडल आराध्यालक्ष्मी खड्गीको साथमा चर्चित मोडल एसराज गरचले अभिनय र डान्स गरेका छन् । रंग संयोजनको साथमा दृश्य सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।
गीतका रचना सहदेव ढुङ्गाना हुनुहुन्छ भने संगीत शक्ति बल्लभको रहेको छ ।
Categorized in पेजथ्री