एकदिवसीय विश्वकपमा न्युजिल्याण्डको शानदार सुरुवात
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १९, शुक्रबार

एकदिवसीय विश्वकप २०२३मा न्युजिल्याण्डले शानदार सुरुवात गरेको छ । बिहिबार भएको यस प्रतियोगिताको उद्घाटन खेलमा न्युजिल्याण्डले साविक विजेता ईङ्ल्याण्डविरुद्ध ९ विकेटको जित दर्ता गरेको हो ।
भारतको अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको यस खेलमा ईङ्ल्याण्डले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले मात्र १ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो ।
विल योङ्ग शुन्य रनमा आउट भएपनि ओपनर डेबोन कान्वे र रचिन रवीन्द्रले शतकीय पारी खेल्दै न्युजिल्याण्डलाई जित दिलाए ।
कान्वेले १सय २१ बलमा १९ चौका र ३ छक्का प्रहार गर्दै १ सय ५२ रनको शतकिय ईनिङ्स खेले ।
यस्तै खेलमा रवीन्द्रले नटआउट १ सय २३ रनको योगदान गरे । उनले ९६ बलमा ११ चौका र ५ छक्का प्रहार गरेका थिए ।
ईङ्ल्याण्डका साम कुरानले एक विकेट हात पारे ।
यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको ईङ्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको गुमाई २ सय ८२ रन बनाएको थियो ।
ईङ्ल्याण्डको लागि जोए रुटले सर्वाधिक ७७ रन बनाएको थियो । जोस बटलरले ४३, जोनी ब्रेस्थोले ३३, ह्यारी ब्रोकले २५ र लियाम लिविन्गस्टोनले २० रन बनाए ।
आदिल रासीदले १५ र डेविड मालन र साम कुरानले समान १४ रन बनाए । मार्क वुड १३ रनमा अविजित रहे ।
न्युजिल्याण्डका माट हेनरीले ३ तथा मिचेर सेन्टनर र ग्लेन फिलिप्सले समान २ विकेट हात पारे । ट्रेन्ट बोल्ट र रचिन रबिन्द्रले समान एक विकेट हात पारे ।
यो जित सँगै न्युजिल्याण्डले महत्वपूर्ण २ अंक जोड्डै गत विश्वकपको फाइनलमा हारेको बदला समेत न्युजिल्याण्ड टिमले लिएको छ ।
Categorized in स्पाेर्ट्स