संस्कृति संरक्षणमा पत्रकारिताको भूमिकाको चर्चा
SamacharDesk – बिकाश | २०७७ फाल्गुण २७, बिहिबार

पत्रकारिताको माध्यमबाट लोपोन्मुख संस्कृति, सम्पदा संरक्षणमा नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले महत्वपूर्ण भूमिका निर्वाह गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
पत्रकार दबू ललितपुर शाखाको विहीबार ललितपुरमा सम्पन्न आठौं वार्षिक साधारण सभाका वक्ताहरुले संस्कृति सम्पदा संरक्षणलाई अझ प्रभावकारी बनाउन पत्रकारहरुमा सांस्कृतिक संवेदनशीलता बारे अझ सचेतना अभियान थाल्नुपर्नेमा पनि जोड दिए ।
सभामा दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले शाखाले ललितपुरको ठोस, सामाजिक सांस्कृतिक परिवेशमा लोपोन्मुख नवदुर्गा नाच गथु प्याखं र पायाः (खड्ग) जात्रा सञ्चालनका लागि पैरवी र संयोजनकारी भूमिका निर्वाह गरेकोमा सराहना गर्नुभयो ।
सो अवसरमा ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारले ललितपुरका जातीय समाज र पत्रकारहरु एकजुट भएर ललितपुरलाई सांस्कृतिक नगरीको रुपमा विकास गर्न अघि बढ्नुपर्ने खाँचो औल्याउनुभयो ।
त्यस्तै दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेपालको८ पहिलो मातृभाषाको पत्रकार धर्मादित्य धर्माचार्यको योगदानलाई जनजनमा पुर्याउन र मातृभाषाको पत्रकारिताको विकासको लागि स्थानीय तहसंग मिलेर ठोस कार्यहरु गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
उपाध्यक्ष रचना श्रेष्ठले महिला पत्रकारहरुको संख्या बढाउनुपर्ने खाँचो औल्याउनुभयो भने केन्द्रीय महासचिव सुनील महर्जनले स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा स्थानीय सरोकारको विषयमा प्रहरी प्रशासनसंगै स्थानीय निकायको ध्यानाकृष्ट गराउन शाखाले निर्वाह गरेको भूमिकाको चर्चा गर्नुभयो ।
सभामा कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारहरु बिरामी वा दीर्घ रोग भएमा आर्थिक सहयोगको लागि खडा गरिएको अक्षयकोष रकम १५ लाखबाट बढाएर ५० लाख रुपैयाँ पुर्याउने प्रतिबद्धता दोहर्याउनुभयो ।
सो अवसरमा सचिव विकास मालीले प्रगति प्रतिवेदन र कोेषाध्यक्ष सुनील बज्रचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
स्वर्गीय अग्रज पत्रकार विक्रम शाक्यको स्मृतिमा एक मिनेट मौन धारण गरी शुरु गरिएको सो सभामा शाखाका अध्यक्ष सागर महर्जन, उपाध्यक्ष प्रशान्त माली र सहसचिव मञ्जु बज्राचार्य लगायतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै पत्रकारितालाई आवाजविहीनको आवाज बनाउन शाखाले विगत आठ वर्षयता निर्वाह गरेको भूमिकाको बारे चर्चा गर्नुभयो ।
Categorized in समाज