नीलबाराही माविलाई १० दिनको अल्टिमेटम
SamacharDesk – राम डंगोल | २०८० भाद्र १०, आइतबार

टंकेश्वरस्थित नीलबाराही माध्यमिक विद्यालयले गरेको ज्यादती विरुद्ध नीलबाराही गुथी, स्थानीय तथा कूल देवताका खलकहरु एकजुट भएका छन् ।
विद्यालय प्रशासनले श्री नीलबाराही मन्दिर परिसरमा रहेको रञ्जित घरपरिवारको कूल देवताका मूर्तिहरुलाई हटाएर भर्याङ राख्न खोज्दा विवाद उत्पन्न भएको हो ।
यसका साथै विद्यालयले नीलवाराही गुथीको नाममा रहेको सतलहरु केही समयको लागि भनेर वर्षौं वितिसक्दा पनि छोड्न नमानेपछि स्थानीय तथा गुथी खलकहरु विरोधमा उत्रिएको छ ।
विद्यालयले गुथीको पुरातात्विक महत्व भएको सतललाई क्यान्टिन तथा बिगे्रका, भाँचिएका बेञ्चहरु राख्ने स्टोर कोठाको रुपमा प्रयोग गरिंदै आएको छ ।
विद्यालयलाई पटक पटक कूल देवतालाई यथास्थानमा प्रतिस्थापन गरिदिन तथा गुथीको नाममा रहेको सतलहरु खाली गराउन ध्यानाकर्षण गराउँदा पनि अटेर गरेपछि आइतबार १० दिनको अल्टिमेटम पत्र विद्यालयका प्रधानाध्यापक जानुका नेपाललाई बुझाएको छ ।
अल्टिमेटम पत्रमा भनिएको छ, यस कामपा १३ वडास्थित श्री नीलबाराही परिसरभित्र रहेको ऐतिहासिक पुरातात्विक सम्पदाहरुको बेवास्ता गरी गैर कानूनी रुपमा सतलहरु अतिक्रमण गरी प्रयोग गरिराखेको र स्कूल मर्मत तथा विस्तार गर्ने वहानामा नेवार समुदायकोे आस्था रहेको कूल देवताका मूर्तिहरु निकालिएको हुनाले यथाशीघ्र पुनः सोही स्थानमा प्रतिस्थापन गर्नुका साथै अतिक्रमित सतलहरु गुथीलाई आवश्यक भएकोले भाद्र १९ गते भित्र खाली गर्न अल्टिमेटम दिएको छ ।
सो विरोध कार्यक्रममा बोल्दै कूल देवता संरक्षणका प्रतिनिधि शिवभक्त रन्जितले हाम्रा पुर्खाहरुले स्थानीय बच्चाहरुले शिक्षा लिन पाओस् भनेर गुथीको जग्गा दिएर स्कूल निर्माण गरेको बताउनुभयो ।
तर आज औंला दिंदा हातै निल्ने प्रवृत्तिले सम्पदाहरु नै नष्ट गर्न स्कूल लागेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, “यो स्कूलले गरेको भ्रष्टाचारको कुरा पनि अब उठाउनुपर्ने बेला भएको छ । भूकम्प गएको बेला सरकारले स्कूलमा हरियो स्टिकर टाँसेको थियो तर यिनीहरुले गलत प्रकृया अपनाएर, सेटिङ मिलाएर रेक्टोफिटिङको नाममा करोडौं घोटाला गरेको छ, यसको पनि विरोध गर्ने बेला भएको छ ।”
त्यस्तै नीलबाराही गुथीका गुथियार सुरेन्द्र महर्जनले हामीले भूकम्पको समयमा बच्चाहरुलाई राख्न केही समयको लागि गुथीको सतल प्रयोग गर्न दिएको तर अहिले हामीलाई आवश्यक भएको बेला खाली गरिदिनुस् भन्दा विद्यालयले आनाकानी गरिरहेको बताए ।
विद्यालयले पुरातात्विक महत्व भएको सतलमा क्यान्टिनको रुपमा प्रयोग गरिंदै आएको र क्यान्टिनबाट मासिक रुपमा भाडा पनि उठाइरहेको महर्जनले बताए ।
उहाँले अगाडि भन्नुभयो, “अहिले हाम्रो केही दिनमा महिना दिनसम्म चल्ने दाफा भजन सुरु हुन लागेको छ । त्यसको लागि हामीलाई सतल चाहिएको छ, चाँडो भन्दा चाँडो सतल खाली गरिदिनु प¥यो ।
आज हामीले सतल खाली गर्न १० दिनको समय दिएका छौं, यदि फेरि पनि आनाकानी गर्छ भने त्यसपछि हुने परिणामको जिम्मा विद्यालय स्वयम् हुनेछ ।”
हाम्रो सम्पदामाथि विद्यालयलले गरेको ज्यादतिका विषयमा बोल्दै १३ वडाका स्थानीय तथा उपत्यका सडक विस्तार संघर्ष समितिका अध्यक्ष सुमन सायमीले नीलवाराही स्कूलले विद्यालय संचालनका लागि कूनै पूर्वाधार नभए पनि विद्यार्थी संख्यामा वृद्धि गरेर गुथीका जग्गा तथा सतलहरु स्कूल अन्तर्गत राख्न खोजेको आरोप लगाउनुभयो ।
उहाँले शिक्षाको नाममा सांस्कृतिक धरोहरहरु अतिक्रमण गर्दै लगेको बताउनुभयो । विवादित विषयलाई सहज ढंगले मिलाउन खोज्दा पनि पेलेरै जाने विद्यालय प्रधानाध्यापकको मनसाय भएको बताउनुभयो ।
सो विद्यालयलले विगतमा पनि श्री नीलबाराही गुथीको सतललाई भत्काएर स्कूल बनाउन लागेको थियो । तर स्थानीय तथा गुथीयारहरुको चर्काे विरोधपछि विद्यालय पछि हटेको थियो ।
Categorized in समाज