arin enterprises

काठमाडौंमा फेरि ‘नो हर्न’ अभियान सुरु

SamacharDesk | २०७९ श्रावण २२, आइतबार

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले आइबारबाट ‘नो हर्न’ अभियान पुनः प्रभावकारी बनाउने भएको छ ।

आज एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो । आज ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नो हर्न अभियानलाई काठमाडौंमा पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताउनु भयो ।

उहाँले नो हर्न अभियान पहिल्यैबाट सञ्चालन गरिएपनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताउनु भयो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटल सँगको सहकार्यमा यो अभियान सञ्चालन गरेको हो ।

कार्यक्रममा मेयर साहले सवारीसाधनबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाइन लागेको बताउनु भयो ।

उहाँले सवारी चालकहरुले पनि धैयर्ता राखेर हर्न नबजाइकन यात्रा गर्न र नो हर्नको अभियानलाई सफल बनाउन आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले जनचेतनामुलक कार्यक्रमले समाजमा फरक कथा बनाउने बताउनु भयो । काठमाडौं महानगरपालिकाले वि.सं.२०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो ।

तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।

Categorized in स्थानीय